फागुन २१ को निर्वाचनका लागि सिन्धुलीमा सेना परिचालन
सिन्धुली। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सिन्धुलीमा नेपाली सेनाको परिचालन सुरु गरिएको छ। एकीकृत सुरक्षा योजना–२०८२ अनुरूप बुधबार बिहानैदेखि सेनालाई मैदानमा उतारिएको हो।
सरकारले यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याइसकेको छ। निर्वाचन आउन अब एक महिना मात्र बाँकी रहँदा सुरक्षा प्रबन्धलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी बनाउने उद्देश्यले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै सिन्धुलीको श्री भवानी बक्स गणबाट करिब ८ सयको संख्यामा नेपाली सेना परिचालित गरिएको गणले जनाएको छ।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटाइनेछन्। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलले लिनेछ। सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै काम गर्ने जनाइएको छ।
नेपाली सेनाले भने बाहिरी सुरक्षा घेरामा रही समग्र सुरक्षाको महत्वपूर्ण जिम्मेवारी सम्हाल्नेछ। निर्वाचन प्रयोजनका लागि सिन्धुलीका दुई निर्वाचन क्षेत्रअन्तर्गत रहेका १ सय ५१ मतदान केन्द्रमा बुधबारदेखि नै नेपाली सेना परिचालित हुने सेनाले जनाएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया