गोलन्जोरको नयाँ नीति: अधुरा योजना सक्ने, जुनारदेखि डिजिटल पालिकासम्मको यात्रा
सिन्धुली । गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा नयाँभन्दा पुराना अधुरा योजना सम्पन्न गर्ने रणनीतिलाई पहिलो प्राथमिकतामा राखेको छ। पूर्वाधार, कृषि, पर्यटन र सुशासनलाई केन्द्रमा राखिएको नीति तथा कार्यक्रममा जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यक्रमहरू समेटिएका छन्।
गाउँपालिकाले सडक स्तरोन्नति, नयाँ सडकमा अनिवार्य ढल निर्माण, “एक घर एक धारा” अभियानलाई निरन्तरता तथा कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा विस्तार गर्ने घोषणा गरेको छ। काठे विद्युत पोल विस्थापन र विपन्न परिवारलाई निःशुल्क विद्युत मिटर वितरण गर्ने योजना पनि कार्यक्रममा समावेश छ।

कृषि क्षेत्रलाई आर्थिक मेरुदण्डका रूपमा व्याख्या गर्दै गाउँपालिकाले रैथाने बाली संरक्षण, जुनार र सुन्तला खेतीको डिजिटल म्यापिङ तथा ट्रेसिबिलिटी प्रणाली लागू गर्ने नीति लिएको छ। उत्पादनलाई बजारसम्म सहज रूपमा पुर्याउन लागत साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने तथा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरिएको छ।
सेवा प्रवाहलाई नागरिकमैत्री बनाउन नयाँ प्रशासनिक भवनबाट सेवा सञ्चालन, सबै वडामा एकीकृत घुम्ती शिविर आयोजना तथा गाउँपालिकालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने योजना अघि सारिएको छ। व्यवसाय दर्ता, नवीकरण र भू-प्रशासनसम्बन्धी सेवा वडा कार्यालयबाटै उपलब्ध गराउने तयारी गरिएको छ।

शिक्षा र स्वास्थ्य क्षेत्र पनि प्राथमिकतामा परेका छन्। प्रत्येक वडामा आवासीय विद्यालय स्थापना गर्ने दीर्घकालीन योजना अघि बढाइने, शैक्षिक सुधार अभियान सञ्चालन गरिने तथा गोलन्जोर आधारभूत अस्पतालबाट २४ सै घण्टा आकस्मिक सेवा र स्वास्थ्य बीमा सेवा सञ्चालन गर्ने लक्ष्य निर्धारण गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि भीमलेश्वर, कपुरभञ्ज्याङ र ल्याङ्द्रयाङ डाँडा लगायतका ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षण र पदमार्ग निर्माण गरिने भएको छ। साथै, स्थानीय कृषि उत्पादनमा आधारित मोडल उद्योग स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्ने नीति पनि समेटिएको छ।
पूर्वाधारको पूर्णता, कृषिको आधुनिकीकरण, डिजिटल सेवा विस्तार र सामाजिक विकासलाई एउटै सूत्रमा बाँध्दै गोलन्जोर गाउँपालिकाले आगामी आर्थिक वर्षको विकास मार्गचित्र सार्वजनिक गरेको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया