लज्जास्पद हारपछि कार्कीको घोषणा : ‘अब कुनै पदमा बस्दिनँ’
सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुलीको प्रथम जिल्ला अधिवेशनमा नराम्रो पराजय भोगेपछि नेता कर्णबहादुर कार्कीले पार्टीको कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका छन्।
बागमती प्रदेश सदस्य पदबाट राजीनामा दिएर जिल्ला सभापतिको दौडमा उत्रिएका कार्कीले अपेक्षाविपरीत जम्मा ४ मत मात्रै प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत आफू अब साधारण सदस्यका रूपमा मात्रै रहने बताएका हुन्।
शनिबार सम्पन्न निर्वाचनमा अविनाश बस्नेत १८१ मतसहित जिल्ला सभापतिमा निर्वाचित हुँदा वृखबहादुर बम्जन (अशोक) ८८ मतसहित दोस्रो स्थानमा रहे। सभापतिको आकांक्षा बोकेर मैदानमा उत्रिएका कार्की भने ४ मतमै सीमित भए।
पराजयपछि फेसबुकमा लामो स्टाटस लेख्दै उनले निर्वाचित सभापति बस्नेतलाई बधाई दिएका छन्। साथै, पार्टी स्थापना कालदेखि संगठन निर्माण, विस्तार र सुदृढीकरणका लागि आफूले योगदान, त्याग र संघर्ष गरेको उल्लेख गर्दै अब कुनै पनि पद वा जिम्मेवारीमा नरहने निर्णय सुनाएका छन्।
कार्कीले आफू केही समय व्यक्तिगत जीवन र परिवारलाई प्राथमिकता दिन चाहेको जनाउँदै पार्टीका विषयमा सम्पर्क नगर्नसमेत आग्रह गरेका छन्।
उनले लेखेका छन्, “आजको दिनदेखि म राष्ट्रिय स्वतन्त्र पार्टीको कुनै पनि जिम्मेवारी वा पदमा नरहेको जानकारी गराउन चाहन्छु। अबदेखि म पार्टीको एक साधारण सदस्यको रूपमा मात्रै रहने निर्णय गरेको छु।” कार्कीको यो घोषणालाई जिल्ला अधिवेशनमा भोगेको अप्रत्याशित र लज्जास्पद हारसँग जोडेर हेरिएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम





फेसबुक प्रतिक्रिया