ऐतिहासिक हरिहरपुरगढीमा नेपाली सेनाद्वारा निर्माण गरिएका संरचना गाउँपालिकालाई हस्तान्तरण

सिन्धुली, असार १५। ऐतिहासिक महत्व बोकेको हरिहरपुरगढी क्षेत्रमा नेपाली सेनाले निर्माण गरेका संरक्षणसम्बन्धी संरचना हरिहरपुरगढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

नेपाली सेनाको सिन्धुलीस्थित भवानी बक्स गण को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको रिटेनिङ वाल, पदमार्ग तथा ढलानसहितको मार्ग सोमबार आयोजित एक समारोहबीच हरिहरपुरगढी गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

श्री नं ९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी भूमिभक्त बराल ले उक्त संरचना हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबालाई हस्तान्तरण गर्नुभयो।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष वाइबाले ऐतिहासिक सम्पदाको संरक्षणमा नेपाली सेनाले पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता संरचनाले हरिहरपुरगढीको ऐतिहासिक पहिचान संरक्षण गर्न तथा यसको महत्व भावी पुस्तासम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि सहायक रथी भूमिभक्त बरालले ऐतिहासिक सम्पदाको संरक्षण साझा दायित्व भएको उल्लेख गर्दै नेपाली सेना स्थानीय तहसँगको सहकार्यमा यस्ता संरक्षणमुखी कार्यलाई निरन्तरता दिँदै आएको र आगामी दिनमा पनि यसलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताउनुभयो।

हरिहरपुरगढी नेपालको इतिहाससँग जोडिएको महत्वपूर्ण गढी क्षेत्र हो। यस क्षेत्रमा निर्माण गरिएका संरक्षणसम्बन्धी संरचनाले ऐतिहासिक सम्पदाको दीर्घकालीन संरक्षणका साथै स्थलको व्यवस्थित व्यवस्थापनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

हस्तान्तरण कार्यक्रममा भवानी बक्स गणका गणपति प्रमुख सेनानी सुदीपकुमार बिष्ट, श्री नं ९ बाहिनी अड्डाका प्रमुख सेनानी मणिराज थापा, सेनानी विजय निरौला लगायत नेपाली सेनाका अधिकारीहरू, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर