लागुऔषध नियन्त्रण विषयक निबन्ध प्रतियोगिताका विजेतालाई पुरस्कार
सिन्धुली। लागुऔषध दुव्र्यसनविरुद्ध विद्यार्थीमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित जिल्ला स्तरीय निबन्ध प्रतियोगिताका विजेतालाई शुक्रबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ।
आज मनाइएको अन्तर्राष्ट्रिय लागुऔषध दुव्र्यसन तथा अवैध ओसारपसारविरुद्धको दिवस को अवसर पारेर जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा आयोजित कार्यक्रममा विजयी विद्यार्थीलाई सम्मान गरिएको हो।
गत असार १० गते सम्पन्न ‘लागुऔषध नियन्त्रणमा विद्यार्थीको भूमिका’ विषयक प्रतियोगितामा गौमती माध्यमिक विद्यालय, माढीबजारका आभाष कोइराला प्रथम, प्रकाशोदय माध्यमिक विद्यालय, फिक्कल गाउँपालिका–३, खुराहरीकी चेतकुमारी पुलामी द्वितीय, जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारकी निता कुमारी क्षेत्री तृतीय तथा प्रकाशोदय माध्यमिक विद्यालयकी पवित्रा मगर सान्त्वना भएकी थिइन्।
जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले विजयी विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन्।
प्रशासकीय अधिकृत प्रवीन कटवालका अनुसार प्रथमलाई ५ हजार, द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार तथा सान्त्वना हुनेलाई १ हजार ५ सय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो।
दिवसकै अवसरमा विद्यालय तहका विद्यार्थीसँग लागुऔषध दुव्र्यसनविरुद्ध अन्तरक्रिया तथा छलफल कार्यक्रम पनि आयोजना गरिएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रबिन्द्रबहादुर सिंहले लागुऔषध दुव्र्यसनको अवस्था, सामाजिक असर, नियन्त्रणका उपाय तथा विद्यार्थीको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए।
विद्यार्थीलाई लागुऔषध दुव्र्यसनविरुद्ध सचेत बनाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले निबन्ध प्रतियोगिता तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया