गोलञ्जोरको ५६ करोडको बजेट: शिक्षा पहिलो प्राथमिकतामा, जुनार र पूर्वाधारमा विशेष जोड

सिन्धुली । गोलञ्जोर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ३३ लाख ८३ हजार ११० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। दोस्रो कार्यकालको अन्तिम बजेटमार्फत गाउँपालिकाले अधुरा योजना सम्पन्न गर्दै शिक्षा, पूर्वाधार, कृषि र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको छ।

कुल बजेटमध्ये सबैभन्दा ठूलो हिस्सा संघीय सरकारको अनुदानबाट जुट्ने भएको छ। संघीय सरकारबाट ३४ करोड ६५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने बागमती प्रदेश सरकारबाट ४ करोड ९३ लाख ९३ हजार रुपैयाँ आउने अपेक्षा गरिएको छ। संघ र प्रदेशको राजस्व बाँडफाँटबाट १३ करोड २१ लाख ७० हजार ५० रुपैयाँ तथा आन्तरिक स्रोत र बैंक मौज्दातबाट ३ करोड ५३ लाख २० हजार ६० रुपैयाँ व्यवस्थापन गरिने भएको छ।

गाउँपालिकाले प्रशासनिक खर्चका लागि १० करोड १९ लाख रुपैयाँ छुट्याएको छ। विषयगत शाखामध्ये शिक्षा क्षेत्रले सबैभन्दा ठूलो बजेट पाएको छ। शिक्षा शाखाका लागि ३ करोड २८ लाख ३४ हजार ११० रुपैयाँ विनियोजन गर्दै शिक्षक व्यवस्थापन र शैक्षिक गुणस्तर सुधारलाई प्राथमिकता दिइएको छ।

पूर्वाधार विकासतर्फ सबै वडा कार्यालयका पूँजीगत योजनाका लागि २ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ। बाह्रै महिना सञ्चालन हुने सडक सञ्जाल विस्तार र ‘एक घर, एक धारा’ कार्यक्रमलाई निरन्तरता दिइने बजेटमा उल्लेख छ।

गोलञ्जोरको पहिचान मानिएको जुनार खेतीलाई पनि बजेटले विशेष महत्व दिएको छ। औँसा किराको नियन्त्रण, उत्पादन वृद्धि र व्यवसायीकरणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

‘हरित र उत्थानशील गाउँपालिका’को अवधारणालाई केन्द्रमा राखेर ल्याइएको बजेटले दिगो पूर्वाधार निर्माण, आर्थिक–सामाजिक रूपान्तरण, प्रविधिमैत्री सेवा प्रवाह र वित्तीय आत्मनिर्भरतालाई मुख्य लक्ष्य बनाएको छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्थानीय स्तरमै स्वरोजगारमा जोड्न सीपमूलक तालिम सञ्चालन गर्ने योजना पनि समेटिएको छ।

तर बजेट कार्यान्वयन सहज भने देखिएको छैन। आर्थिक मन्दीका कारण संघीय र प्रदेश अनुदान घट्न सक्ने जोखिम, पूँजीगत खर्चको तुलनामा बढ्दो चालु खर्च, दक्ष जनशक्तिको अभाव, युवा पलायन तथा नदीजन्य पदार्थको ठेक्का व्यवस्थापनमा देखिएका प्राविधिक समस्या गाउँपालिकाका मुख्य चुनौतीका रूपमा औँल्याइएका छन्।

समग्रमा, गोलञ्जोरको बजेटले शिक्षा, कृषि र पूर्वाधारमा लगानी बढाउँदै स्थानीय विकासलाई गति दिने संकेत गरेको छ। अब चुनौती बजेट घोषणालाई प्रभावकारी कार्यान्वयनमार्फत परिणाममा रूपान्तरण गर्नु हुनेछ।

https://drive.google.com/file/d/1K_OWHcg_Ug4UT8lkxCUhdMpv2aKMXI2B/view


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर