सिन्धुलीगढीको मौलिकता जोगाउन नागरिकस्तरबाट ‘श्वेतपत्र’ जारी, सांसद गजुरेललाई हस्तान्तरण
१४जेठ, सिन्धुलीमाढी । सिन्धुलीका ऐतिहासिक सम्पदा संरक्षण तथा दिगो पर्यटन विकासलाई केन्द्रमा राख्दै नागरिकस्तरबाट तयार पारिएको ‘सिन्धुली सम्पदा संरक्षण र दिगो पर्यटन श्वेतपत्र–२०८३’ आइतबार सिन्धुलीमाढीमा आयोजित गोलमेच संवादमार्फत सार्वजनिक गरिएको छ।
कार्यक्रममा सम्पदा अभियन्ता भीमविक्रम थापाले श्वेतपत्र तथा नीतिगत मागपत्र प्रतिनिधिसभा सदस्य आशिष गजुरेललाई हस्तान्तरण गर्नुभएको थियो। मागपत्र ग्रहण गर्दै सांसद गजुरेलले सिन्धुलीको ऐतिहासिक, सामरिक तथा पर्यटनसम्बन्धी महत्वलाई राष्ट्रिय नीति र बजेटमा समावेश गराउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
श्वेतपत्रमा सिन्धुलीगढी, हरिहरपुरगढी र ऐतिहासिक ढुङ्गेबजार क्षेत्रमा भइरहेका अव्यवस्थित सिमेन्टकरण र व्यापारीकरण रोक्नुपर्ने माग गरिएको छ। साथै पुराना बङ्कर, कोतघर, मन्दिर तथा रैथाने काठे संरचनाहरूलाई मौलिक स्वरूपमै संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।

त्यसैगरी, इतिहासविद्हरूले पुष्टि गरेको सिन्धुलीगढी युद्धको वास्तविक विजय तिथिलाई आधिकारिक रूपमा स्थापित गरी आगामी वर्षदेखि सोही मितिमा भव्य रूपमा ‘विजय दिवस’ मनाउन स्थानीय तहहरूले नीतिगत निर्णय गर्नुपर्ने प्रस्ताव पनि श्वेतपत्रमा समेटिएको छ।
दिगो पर्यटन प्रवर्द्धनका लागि सुनकोशीमा अवैध क्रसर दोहन नियन्त्रण गर्दै राफ्टिङ तथा माझी समुदायको डुङ्गा सफारी सञ्चालन, मरिणमा दनुवार हस्तकलाका लागि डिजिटल क्राफ्टिङ ल्याब स्थापना, चुरे क्षेत्रमा बर्ड वाचिङ ट्रेल निर्माण तथा बीपी राजमार्गमा बिचौलियामुक्त स्मार्ट हाटबजार सञ्चालन जस्ता कार्यक्रमलाई स्थानीय तहको बजेटमा समावेश गर्न आग्रह गरिएको छ।

कार्यक्रममा होटल एसोसिएसन सिन्धुलीका अध्यक्ष चन्द्रदेश श्रेष्ठले सम्पदा संरक्षणसँगै दिगो पर्यटन र ‘ग्रीन हस्पिटालिटी’ प्रवर्द्धनमा होटल व्यवसायीहरूको सक्रिय भूमिका रहने बताए। उनले श्वेतपत्रका उद्देश्यलाई कार्यान्वयन गर्न एसोसिएसनले वर्षभरि विशेष पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा पनि गरे।
घोषित कार्यतालिकाअनुसार असोज १५ मा सिन्धुलीगढी विजय उत्सवको अवसरमा पर्यटकहरूका लागि ‘ग्रीन हस्पिटालिटी’ अभिमुखीकरण तथा माझी र दनुवार समुदायका परम्परागत परिकारहरूको प्रवर्द्धन गरिनेछ। मङ्सिर–पुस मा गोलन्जोर र फिक्कलका जुनार किसानसँग सहकार्य गरी ‘जुनार बगैँचा भ्रमण’ प्याकेज सञ्चालन गरिनेछ।

त्यसैगरी माघमा ऐतिहासिक गढी–किल्लालाई आधार बनाएर ‘फोर्ट स्टेज राइड’ नामक साइक्लिङ कार्यक्रम आयोजना गर्ने, फागुनमा सामुदायिक होमस्टे तथा होटल व्यवसायीका लागि आतिथ्य सेवा र वातावरणमैत्री अभ्याससम्बन्धी तालिम सञ्चालन गर्ने तथा वैशाख–जेठमा फिक्कल र महाभारत क्षेत्रलाई लक्षित गरी ‘वर्क फ्रम नेचर’ अवधारणाअन्तर्गत डिजिटल नोमाडहरू आकर्षित गर्ने योजना अघि सारिएको छ।
समृद्ध सिन्धुली अभियान, स्टोरी साइकल र होटल एसोसिएसन सिन्धुलीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जनप्रतिनिधि, योजना अधिकृत, पर्यटन व्यवसायी, सम्पदा संरक्षणकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया