सुनकोशीमा ‘अभ्यास मनसुन–६’ सम्पन्न : संयुक्त विपद् प्रतिकार्य क्षमता प्रदर्शन
सिन्धुली । गोलञ्जोर गाउँपालिका–७ खुर्कोटस्थित सुनकोशीमा संयुक्त विपद् प्रतिकार्य सिमुलेशन “अभ्यास मनसुन–६” सम्पन्न भएको छ।
मनसुनजन्य विपद्को जोखिम न्यूनीकरण तथा खोज–उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कृत्रिम विपद् अभ्यास प्रस्तुत गरेका थिए।
अभ्यासका क्रममा नदीमा फसेका व्यक्तिको उद्धार, डोरी तथा र्याफ्ट प्रयोग गरी सुरक्षित स्थानमा स्थानान्तरण, पहिरो तथा भिरालो क्षेत्रमा फसेकाको उद्धार, घाइतेलाई प्राथमिक उपचारसहित अस्पतालसम्म पु¥याउने प्रक्रिया लगायतका गतिविधि प्रदर्शन गरिएको थियो। यसमार्फत सुरक्षा निकायको तयारी, समन्वय तथा शीघ्र प्रतिकार्य क्षमताको प्रदर्शन गरिएको थियो।

कृत्रिम अभ्यासमा नेपाली सेनाको भवानी बक्स गण, जिल्ला प्रहरी कार्यालय सिन्धुली, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर सिन्धुली, विपद् व्यवस्थापन बेस खुर्कोट तथा नेपाल रेडक्रस सोसाइटीको सहभागिता रहेको थियो।
कार्यक्रममा रामेछापको मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवार, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोखरेल, नेपाली सेनाको श्री नं. ९ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी अमृत थापामगर लगायत सिन्धुली र रामेछाप जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

सोही अवसरमा जेठ ४ गतेदेखि सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस खुर्कोटमा सञ्चालन भएको १० दिने गोताखोर अनुशिक्षण तालिमको पनि समापन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक पोखरेलले विपद् व्यवस्थापन बेस खुर्कोटमा खोज तथा उद्धार कार्यका लागि आवश्यक स्रोत–साधनको अभाव रहेको बताउनुभयो। साथै, अनुशिक्षण कार्यक्रममा सहभागी अधिकृत तथा जवानहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया