काक्रोभित्र खैरो हिरोइन लुकाएर हिँडेका सोलुका श्रेष्ठ प्रहरी फन्दामा

सिन्धुली । काक्रोभित्र प्वाल पारेर खैरो हिरोइन लुकाई काठमाडौंतर्फ लैजाँदै गरेका सोलुखुम्बुका एक युवक प्रहरीको फन्दामा परेका छन् ।

इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबासको संयुक्त टोलीले शुक्रबार बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–९ भिमानमा चेकजाँच गर्ने क्रममा बा४ख ५५०० नम्बरको हायस (माइक्रोबस)बाट सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ का २६ वर्षीय विक्रम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार झापाबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रोबसमा सवार श्रेष्ठले बोकेको रातो झोलाभित्र काक्रो राखिएको थियो । शंका लागेपछि प्रहरीले काक्रो चिरेर हेर्दा भित्र प्वाल पारेर कालो र सेतो प्लास्टिकले बेरिएका दुई पोका फेला परेका थिए । परीक्षणका क्रममा उक्त पदार्थ १०० ग्राम ४२० मिलिग्राम खैरो हिरोइनजस्तो देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी रविन्द्रबहादुर सिंहले लागूऔषध ओसारपसारमा नयाँ–नयाँ तरिका अपनाउने प्रवृत्ति बढ्दै गएको बताए । उनले भने, “लागूऔषध कारोबार नियन्त्रणका लागि राजमार्गमा निगरानी कडा पारिएको छ । शंकास्पद गतिविधिमाथि सूक्ष्म निगरानी गर्दा यस्तो परिणाम आएको हो ।”

पक्राउ परेका श्रेष्ठलाई सिन्धुली जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर