जेन-जी आन्दोलनमा सिन्धुलीका एक सुरक्षाकर्मीसहित तीनको मृत्यु, तीन घाइते

३१ भदौ, सिन्धुली / सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र मुलुकभरि फैलिएको भ्रष्टाचारविरुद्ध भदौ २३ गतेदेखि सुरु भएको जेन-जी आन्दोलनमा प्रहरीले कुटपिट र आगजनी गर्दा मृत्यु हुनेको संख्या हालसम्म ७२ पुगेको छ। तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी, र ३ जना सुरक्षाकर्मी रहेका छन्।

सिन्धुली पनि यस घटनाबाट अछुतो रहन सकेन। काठमाडौंमा भएको आन्दोलनमा एक सुरक्षाकर्मीसहित तीन जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।

काठमाडौंको बानेश्वरमा भदौ २३ गते भएको आन्दोलनका क्रममा गोलन्जोर गाउँपालिका–१ का रोशन न्यौपाने प्रहरीको गोली लागेर ज्यान गुमाए।

त्यसैगरी, दुधौली नगरपालिका–८ का प्रहरी सहायक निरीक्षक मिलन राय आन्दोलनकै क्रममा आन्दोलनकारीको आक्रमणमा मृत्यु भए। आन्दोलनकारी समूहले प्रहरी वृत्त महाराजगञ्जमा आगजनी र कुटपिट गर्दा उनी घाइते भई ज्यान गुमाएका थिए। राय अपराध अनुसन्धान शाखामा कागजी काममा कार्यरत थिए भने उनको दरबन्दी इलाका प्रहरी कार्यालय रामेछापमा रहेको थियो।

यस्तै, तिनपाटन गाउँपालिका–६ का दिपेश सुनुवार भदौ २३ को प्रदर्शनपछि बेपत्ता भएका थिए। परिवारको खोजतलासपछि उनलाई छातीमा गोली लागेर मृत्यु भएको अवस्थामा फेला पारियो। उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको थियो।

आन्दोलनकै क्रममा गोलन्जोर–३ का नविन तामाङ, गोलन्जोर–१ का तिलक मगर र सिन्धुलीकै मदन कार्की घाइते भएका छन्। उनीहरूको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर