सिन्धुलीमा लागुऔषध कारोबारमा नेविसंघ नेता पक्राउ

सिन्धुली, २ भदौ । पछिल्लो समय सिन्धुली जिल्लाको दुधौली क्षेत्र लागुऔषध कारोबारको  केन्द्र (ट्रान्जिट) बन्दै गएको तथ्याङ्क सार्वजनिक भइरहेका बेला नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता सुशिल कपडी पक्राउ परेका छन्।

गत स्ववियु निर्वाचनमा दुधौलीस्थित कमला बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापति पदका उम्मेदवार रहेका कपडीलाई प्रहरीले नेपालमा प्रतिबन्धित औषधि ओनिरेक्स (समिश्रण: कोडिन फस्फेट र ट्रिप्रोलिडिन हाईड्रोक्लोराईड) कारोबार गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

दुधौली नगरपालिका–९ घरमा नै लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरी चौकी दुधौलीका इन्चार्ज वरिष्ठ सहायक निरीक्षक कलमबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले सोमबार बिहान कपडीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक (डिएपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए ।  यस क्रममा उदयपुर कटारी नगरपालिका–३ निवासी मनोज कार्की पनि पक्राउ परेका छन्।

तस्बिर/ प्रहरीले बरामद गरेको नेपालमा प्रतिबन्धित ओनिरेक्स

प्रहरीका अनुसार उनीहरूबाट  १३ बोतल ओनिरेक्स बरामद गरिएको छ। दुधौली र आसपासका क्षेत्रमा लागुऔषधको अवैध कारोबार बढ्दै गएपछि निगरानी कडा पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहामा राखीएको  छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर