सिन्धुलीमा २२ वर्षअघि आफ्नै ‘मामा–माइजू’को बीभत्स हत्या गर्ने थापा जेल चलान

सिन्धुली, १८ साउन — सिन्धुलीको अरुणठाकुरमा २२ वर्षअघि आफ्नै मामा र माइजुको बीभत्स हत्या गरी फरार रहेका केदार सिंह थापा पुर्पक्षका लागि जेल चलान भएका छन्।
उदयपुरको साबिक मयङ्खु गाविस–६ (हाल कटारी नगरपालिका–१३) निवासी ५७ वर्षीय थापाले २०६० साल पुस ६ गते राति सिन्धुलीको साबिक अरुण ठाकुर–८ (हाल दुधौली नगरपालिका–१३) मा रहेका आफ्ना मामा रत्नबहादुर कार्की (४५) र माइजू दुर्गामाया कार्की (४५)लाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
घटनापछि फरार रहेका थापाविरुद्ध मृतकका छोरा दुर्गा बहादुर कार्कीले सोही वर्ष किटानी जाहेरी दिएका थिए। प्रहरी अनुसन्धानमा थापाको संलग्नता पुष्टि भए पनि उनी २२ वर्षसम्म फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार थापा पछिल्लो समय दाङको लमही नगरपालिका–९ स्थित जलकुण्डी क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए। विशेष सूचनाको आधारमा गत असार १३ गते उनलाई पक्राउ गरिएको हो।
पक्राउपश्चात् थापालाई सिन्धुली ल्याई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान थालिएको थियो। अनुसन्धानपश्चात् अभियोग पत्रसहित अदालतमा पेस गरिएपछि २०८२ साउन १८ गते अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया