काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट गर्ने सिन्धुलीका दुई जना पक्राउ

काठमाण्डौं,१४ साउन – काठमाडौंमा नक्कली सुन देखाएर लुटपाट गरेको आरोपमा सिन्धुलीका दुई जना पक्राउ परेका छन् भने लुटिएको सुन खरिद गरेको आरोपमा एक जनालाई पनि पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सिन्धुली दुधौली नगरपालिका–१० कोक्टी घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ बस्ने ४७ वर्षीय बिमल तामाङ र दुधौली नगरपालिका–१२ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका बालुवाखानी बस्ने ३९ वर्षीय लालबहादुर घिसिङ छन्। साथै, लुटिएको सुन खरिद गरेको आरोपमा खोटाङ मझुवागढी नगरपालिका–१४ घर भई भक्तपुर लोकन्थलीमा बस्ने ३९ वर्षीय भक्तबहादुर गदाल विकलाई पक्राउ गरिएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले काठमाडौंका विभिन्न ठाउँमा बसोबास गर्ने ६ जना पीडितलाई नक्कली सुनलाई सक्कली सुन भनेर देखाउँदै ठगी तथा लुटपाट गरेको खुलेको छ।

पीडितसँग भएको सुनका गरगहनासहित नगद ठगी गरी फरार भएको प्रहरीको भनाइ छ। उनीहरूले आफूसँग साउदी रियाल र अन्य विदेशी मुद्रा रहेको भन्दै बजार मूल्यभन्दा कम मूल्यमा सुन किन्न प्रलोभन देखाएर झुक्याउने गरेको पनि अनुसन्धानमा खुलेको छ। यसरी पीडितले लगेको नेपाली रुपैयाँ लुटपाट गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट सुनजस्तो देखिने पहेंलो धातु १७ ग्राम ६ सय मिलिग्राम, ठगीमा प्रयोग गरिएको नक्कली सुनका चार थान ढिक्का र ना ५७ प १५१६ नम्बरको स्कुटर बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

-->

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर