सुरक्षा निकायका प्रमुख सहित १३ जिल्लाका सिडिओ हेटौँडामा

प्रदेशको सुरक्षा समन्वय समिति बैठकमा सहभागी हुन चार वटै सुरक्षा निकायका प्रमुख र १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी हेटौँडामा भेला भएका छन् । हेटौडाको होटल एभोकाडोमा दिउँसो ३ बजेबाट सुरु हुने वाग्मती प्रदेशस्तरीय सुरक्षा समन्वय समितिको बैठकको उद्घाटन मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गर्ने भएका छन् ।
बैठकमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित प्रदेशअन्तर्गत १३ वटै जिल्लाका सुरक्षा समितिका पदाधिकारी सहभागी हुँदै छन् । जिल्ला सुरक्षा समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी, आर्मी, सशस्त्र, अनुसन्धानका प्रमुख एवं सहायक प्रमुख जिल्ला अधिकारी पदाधिकारी रहने व्यवस्था रहेको छ ।
प्रदेश समन्वय समितिको बैठक यसअघि ६ वटा प्रदेशमा सम्पन्न भइसकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जानकारी दिए ।
बैठकको उद्घाटन सत्रमा गृहमन्त्री रवि लामिछाने आउने बताइए पनि अन्तिम समयमा आएर उनी नआउने भएका छन् । गृहमन्त्री लामिछाने बुधवार मात्र हेटौँडा आउने बताइएको छ । ‘गृहमन्त्रीज्यूले बैठकलाई भोलि सम्बोधन गर्नुहुनेछ । भेलाको तयारी पूरा भइसक्यो,’ प्रजिअ सेढाईंले भने । उनका अनुसार प्रदेशका आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ, सङ्घीय गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, प्रवक्ता नारायण भट्टराई तथा राष्ट्रिय परिचय पत्र विभागका प्रमुख युवराज कट्टेललगायतले बैठकमा सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
बैठकमा विशेष गरी प्रदेशभरको शान्ति सुरक्षा, सेवा प्रवाहको अवस्था, विपद् नियन्त्रणका विषयमा छलफल हुने जनाइएको छ । ‘शान्ति सुरक्षा कायम गर्न समाजमा गरिएको नवीन कार्य, सुरक्षा थ्रेडको अवस्थालगायत विषयमा बैठकमा छलफल हुनेछ,’ प्रजिअ सेढाईंले भने । बैठक दुई दिनसम्म चल्नेछ ।

माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर