हतियार हराएकै घटना गुपचुप !

सिन्धुली । नेपाल प्रहरीको मूल मन्त्र छ, सत्य सेवा सुरक्षणम् । जब प्रहरीले आफैँले बाकेको हतियार हराउँछ वा सुरक्षित रहँदैन भने त्यस्तो प्रहरी अधिकारी वा कर्मचारीबाट नागरिकले कस्तो सुरक्षाको अपेक्षा राख्ने ? गत साताको बिहीबार भएको यो घटनाले सिन्धुली प्रहरीको अवस्था र कार्यशैली माथि यस्तै प्रश्न उठाएको छ ।
गत साउन १७ गते बिहीबार बरुण तर्फको रात्रिकालीन गस्तीमा निस्किएको भनिएको इलाका प्रहरी कार्यालय कपिलाकोटको भ्यानमा सवार प्रहरीकै हतियार हराएपछि निकै खैलाबैला मच्चियो । भ्यान र एउटा मोटरसाइकलमा गएको प्रहरी टोली मरिण गाउँपालिका वडा नं. ३ स्थित सुके खहरे भन्ने ठाउँमा पुगेपछि रोकियो र राइफल हरायो भन्दै निकै ठुलो खैलाबैला मच्चियो ।
प्रहरी स्रोतका अनुसार निकै लामो समयको खैलाबैला पछि सो राइफल भेट्ने व्यक्तिलाई १० हजार पुरस्कार दिने भन्दै राती फर्कियो । भोलीपल्ट बिहान स्थानीय एक थोती माझी नाम गरेकी महिलाले पेस्तोल भेट्टाएको सूचना इलाका प्रहरी कार्यालयमा आयो । त्यहाँबाट प्रहरीको एउटा टोली सूचना पाउनासाथ सो ठाउँमा पुग्यो र महिलालाई राती भनिएको १० हजार होइन ५ हजार रुपैयाँ पुरस्कार स्वरूप हातमा थमाएर फर्कियो ।
प्रहरीले बोक्ने राइफल हराएको भनेर अघिल्लो दिन भनिए पनि भोलीपल्ट पेस्तोल भेटिएको विवरण कहीँ कतै सार्वजनिक भएन । सन्देश जनप्रिय साप्ताहिकलाई प्राप्त विवरण अनुसार प्रहरीले सो घटनालाई गुपचुप राखेको हो । हतियार जस्तो संवेदनशील विषयमा जिल्ला प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले समेत यो घटनालाई लुकाएको जिल्ला सुरक्षा समितिका एक सदस्यले बताए । प्रहरीले यो घटना किन गुपचुप बनायो सो विषयको तथ्य खुल्दै जानेछ । सन्देश जनप्रियबाट
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया