नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन
सिन्धुलीगढी । नेपाली सेनाको मध्यपूर्वी पृतनाले हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको पदयात्रा -२०८२ (अभ्यास गढी यात्रा–१) शुक्रबार सिन्धुलीगढीमा एक औपचारिक कार्यक्रमबीच समापन गरिएको छ।
मध्यपूर्वी पृतना हे.क्वा. बर्दिवास, श्री नं. ९ बाहिनी अड्डा तथा हरिहरपुरगढी गाउँपालिका र कमलामाई नगरपालिकाको समन्वयमा ५ माघमा ऐतिहासिक स्थल हरिहरपुरगढीबाट सुरु गरिएको पदयात्रा ऐतिहासिक सिन्धुलीगढीमा आएर समापन भएको हो।

नेपाली सेनाको भवानी बक्स गणका गणपति प्रमुख सेनानी सुदीप कुमार बिष्टको नेतृत्वमा मध्यपूर्वी पृतना अन्तर्गतका बाहिनी, गण तथा गुल्महरूबाट २२५ जना सैनिक अधिकृत तथा जवानहरूको टोलीले पाँच दिनसम्म पदयात्रा गरेको थियो। टोलीले पाँच दिनमा ४७ किलोमिटर पैदल यात्रा तथा ७४ किलोमिटर सवारी यात्रा पूरा गरी सिन्धुलीगढी आइपुगेको थियो।
समापन समारोहका अवसरमा पदयात्रा टोलीको झण्डा मध्यपूर्वी पृतनापति उपरथी कृष्णबहादुर जीसीलाई हस्तान्तरण गरिएको थियो। समारोहलाई सम्बोधन गर्दै उपरथी जीसीले गढी तथा सामरिक भूगोलको महत्व हिजो, आज र भविष्यमा पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै यससँग परिचित हुनु आवश्यक रहेको बताए।

उनले हरिहरपुरगढी र सिन्धुलीगढी जिल्लाको पहिचान मात्र नभई सामरिक दृष्टिले समेत ऐतिहासिक महत्व बोकेको स्थान भएको बताए। अंग्रेज फौजको आक्रमणविरुद्ध वीरतापूर्वक लडेर विजय हासिल गरेका वीर पुर्खाहरूको साहस र वीरता इतिहासमा अमर रहेको स्मरण गर्दै उनले ती ऐतिहासिक गढीहरूको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे।

समापन समारोहमा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ तथा सिन्धुलीगढीका खोज तथा अनुसन्धानकर्ता सागरकुमार ढकालले मन्तव्य व्यक्त गरेका थिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया