कमलामाई नगरपालिकाले सार्वजनिक संरचना जलाउन उक्साउने कर्मचारी र शिक्षकलाई कारबाही गर्ने

३१ भदौ, सिन्धुली ।  नेपालमा भदौ २३- २४ मा सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धको विरोधमा देशभर भएको आन्दोलनको क्रममा सार्वजनिक संरचना जलाउनुपर्छ भन्दै सामाजिक सञ्जालमा पोस्ट वा कमेन्ट गर्ने कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीलाई कमलामाई नगरपालिकाले कारबाही गर्ने भएको छ।

नगर कार्यपालिकाको आज विहान बसेको बैठकले ‘जेनजी आन्दोलन’का क्रममा सार्वजनिक सम्पत्ति नष्ट हुँदा खुशी मान्ने तथा “अब स्थानीय तहको पालो” भन्ने प्रकारका टिप्पणी गर्ने नगरपालिकाका कर्मचारी तथा शिक्षकविरुद्ध प्रमाण संकलन गरी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

“नगरपालिकाको सुरक्षामा खटिनुपर्ने व्यक्तिहरू उल्टै सार्वजनिक तथा सरकारी संरचना जलाउन उक्साउने गतिविधिमा संलग्न भएको देखिएको छ। त्यसकारण उनीहरूलाई प्रमाणसहित कारबाही गरिनेछ,” उनले माईशिरसँग टेलिफोन सम्पर्कमा भने।

उनका अनुसार आगलागी र तोडफोडका घटनाबाट कमलामाई नगरपालिकामात्रै करिब ४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदन कार्यपालिका बैठकमा प्रस्तुत गरिएको छ।

पोख्रेलले थपे, “जेनजी आन्दोलन भ्रष्टाचार र बेथितिविरुद्ध भएको हो। त्यसलाई समर्थन गर्नु स्वाभाविक हो। तर केही कर्मचारी र शिक्षकहरूले सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन जस्ता संरचना जल्दा खुशी व्यक्त गर्दै स्थानीय तहको पालो भन्दै उत्तेजनापूर्ण टिप्पणी गरेका छन्। यस्ता गतिविधि सह्य हुने छैन।”

उनले स्पष्ट पारे, “नगरपालिका तथा सरकारी संरचना जलाउन उक्साउने वा त्यसमा सहभागी हुने व्यक्तिहरू सरकारी सेवामा रहने लायक छैनन्। उनीहरूलाई राज्यविरुद्धको फौजदारी कसुर अन्तर्गत कारबाही गरिनेछ। स्थायी, अस्थायी, करार वा ज्यालादारी – नगरपालिकाबाट सेवा सुविधा लिएकाहरूमाथि पनि कारबाही हुन्छ। उनीहरूजस्ता भस्मासुरलाई नगरपालिका राख्न सक्दैन।”

नगरपालिकाले सामाजिक सञ्जालमा पोस्ट वा कमेन्ट गर्ने कर्मचारी र शिक्षकहरूको विवरण संकलन भइसकेको छ। साथै, आम नगरवासीलाई पनि त्यस्ता प्रमाणहरू उपलब्ध गराउन नगरपालिकाले आह्वान गरेको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर