सिन्धुलीको ‘होटल भ्याली भ्यु’बाट अनलाइन ठगी गर्ने ७ जना पक्राउ

सिन्धुली, ५ भदौ / अनलाइन ठगीको धन्दा चलाउँदै आएका सात जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ। उनीहरूले कमलामाई नगरपालिका–६ स्थित होटल भ्याली भ्युमा दुईवटा कोठा १० दिनको लागि भाडामा लिएर बसेर विभिन्न नक्कली फेसबुक र टिकटक एकाउन्टमार्फत कपडा तथा अन्य सामान सस्तोमा बिक्री गर्ने बहानामा ग्राहकबाट पैसा असुल्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार, पक्राउ परेकाहरूले “नैना कलेक्सन” र “सान्वी कलेक्सन” नामका एकाउन्ट खोली ह्वाट्सएपमार्फत ग्राहकसँग सिधा सम्पर्क गर्थे। सामान पठाउनु अघि आधा रकम अनिवार्य रूपमा पठाउनुपर्ने भन्दै ई–सेवा क्युआर कोडमार्फत पैसा असुल्ने र त्यसपछि सम्पर्कविहीन हुने गरेको पाइएको छ। प्रहरीका अनुसार उनीहरूले प्रायः पाँच सय देखि एक हजार रुपैयाँसम्म ठगी गर्ने गरेका थिए।
पक्राउ परेकाहरूमा धनुषाको विदेह नगरपालिका–६ का २१ वर्षीय रोशन कुमार मण्डल, औरही गाउँपालिका–५ का १८ वर्षीय आनन्द कुमार साह, २० वर्षीय राधे कुमार ऋषि, १८ वर्षीय सुसान्त अधिकारी, १८ वर्षीय शंकर कुमार राउत, सबैला नगरपालिका–७ का १९ वर्षीय अमिर कुमार मण्डल र सिद्धार्थ नगरपालिका–७ का १८ वर्षीय रवि किशन दास रहेका छन्। अनुसन्धानमा उनीहरूको साथबाट ८ वटा मोबाइल बरामद भएको छ।
जिल्ला अदालत सिन्धुलीले म्याद थप गरी थप अनुसन्धान अघि बढाएको छ। प्रहरीले यो समूहले अन्य जिल्लामा पनि ठगी गरेको हुनसक्ने आशंका व्यक्त गर्दै थप अनुसन्धान र समन्वय जारी राखेको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया