सिन्धुलीमा ‘आगामी वैशाखमा भूतपूर्व सैनिक सम्मेलन’ हुँदै, नाम दर्ता खुल्यो!
तस्बिर/ नेपाली सेना
सिन्धुलीमाढी / नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सिन्धुली जिल्लामा आगामी वैशाखमा ‘भूतपूर्व सैनिक सम्मेलन-२०८२’ आयोजना हुने भएको छ। सम्मेलन आगामी वैशाख ४ गते श्री नं. ९ बाहिनी अड्डा, माझिटार ब्यारेकमा हुने नेपाली सेनाले जनाएको छ।
सिन्धुली जिल्लामा बसोबास गरेका तथा जिल्लाका विभिन्न बैंकहरूबाट निवृत्तिभरण (पेन्सन) लिँदै आएका नेपाली सेनाका भूतपूर्व सैनिक तथा पारिवारिक निवृत्तिभरणमा रहेका हिताधिकारीहरूलाई सम्मेलनमा सहभागी हुन आह्वान गरेको छ।
सम्मेलनका लागि नाम दर्ता खुला गरिएको छ। इच्छुक सहभागीहरूले २०८२ चैत्र १ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म दर्ता गराउनुपर्नेछ। दर्ताका लागि सहभागी हुन इच्छुकले श्री नं. ९ बाहिनी अड्डा, माझिटार ब्यारेकमा स्वयं उपस्थित भई वा नेपाली सेनाको वेबसाइट nawb.nepalarmy.mil.np मार्फत अनलाइन दर्ता गर्न सक्नेछन्।
दर्ताका लागि सक्कल पेन्सन पट्टा, नागरिकताको प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो तथा उपलब्ध भएमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने सेनाले जनाएको छ। विशेष अशक्तता भएका व्यक्तिहरूले सम्बन्धित निकायबाट प्रमाणित कागजात पेश गर्नुपर्नेछ।
सम्मेलनमा सहभागीहरूलाई विभिन्न कर्जा सुविधा प्राप्त गर्ने लाभग्राहीहरूलाई चेक हस्तान्तरण, उत्कृष्ट लघु उद्यमीलाई सम्मान, ज्येष्ठ भूतपूर्व सैनिक तथा ज्येष्ठ एकल महिलालाई विशेष सम्मान गर्ने कार्यक्रम रहनेछ। साथै सहभागीहरूलाई भ्रमण भत्ता उपलब्ध गराइनेछ भने फटिग क्याप, सल, झोला लगायत सामग्री वितरण गरिने आयोजकले जनाएको छ।
त्यसैगरी, चार वा सोभन्दा बढी सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने अभिभावकमध्ये एक जनालाई नगद पुरस्कार तथा कदरपत्र प्रदान गरिनेछ। फरक क्षमता भएका सन्तति तथा अशक्त आश्रितहरूलाई व्हीलचेयर र बैसाखी वितरण गरिने जनाइएको छ।
सम्मेलनमा सहभागी हुँदा पेन्सन पट्टावाला स्वयं उपस्थित हुनुपर्नेछ भने शारीरिक रूपमा अशक्त व्यक्तिहरूले मात्र सहयोगी ल्याउन पाउने व्यवस्था गरिएको छ। थप जानकारीका लागि ०४७–५९०००८ वा ९८४७५४११२० मा सम्पर्क गर्न सकिनेछ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम



फेसबुक प्रतिक्रिया