नेकपामा विद्रोहः दुई दर्जन कार्यकर्ता एमालेमा प्रवेश, मनोजंग थापालाई जिताउने उद्घोष

सिन्धुली । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा सिन्धुलीमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का करिब दुई दर्जन स्थानीय कार्यकर्ताले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रवेश गर्ने कार्यकर्ताहरूले विगतमा निर्वाचित जनप्रतिनिधिहरू जनतासँग सम्पर्कविहीन भएको, स्थानीय समस्याप्रति बेवास्ता गरेको र चुनावी प्रतिबद्धता पूरा नगरेको आरोप लगाउँदै नेकपा माओवादी केन्द्र हुँदै हालको नेकपासम्म असन्तुष्टि बढेको बताएका छन्। सोही कारण आफूहरूले विद्रोह गर्दै नयाँ विकल्प रोजेको उनीहरूको भनाइ छ।

क्षेत्र नं. २ अन्तर्गत फलामेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार मनोजंग थापाले नवप्रवेशीलाई अबिर र खादा लगाएर स्वागत गरे। कार्यक्रममा बोल्दै थापाले विगतमा केही दलले जनतासँग गरेका वाचा पूरा नगरेको गुनासो व्यापक रूपमा आएको उल्लेख गरे।

उनले क्षेत्र नं. २ विकासका दृष्टिले पछाडि परेको बताउँदै अबको जितपछि विकास, सुशासन र जनतासँग प्रत्यक्ष सम्बन्धलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास जितेर त्यसलाई काममार्फत् पुष्टि गर्ने हाम्रो लक्ष्य हो,” उनले भने।

नवप्रवेशी कार्यकर्ताहरूले आगामी निर्वाचनमा एमालेका सूर्य चिह्नका उम्मेदवार मनोजंग थापालाई विजयी गराउन सक्रिय भूमिका खेल्ने उद्घोष गरेका छन्। कार्यक्रममा उल्लेखनीय संख्यामा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

कार्यक्रमपछि समर्थकहरूले नाचगानसहित उत्सव मनाएका थिए। फलामे लगायत क्षेत्र नं. २ का विभिन्न स्थानमा चुनावी गतिविधि तीव्र बन्दै गएको देखिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर