चुनावको मुखैमा राजनलाई ठूलो झट्का! प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष–सचिवको एकसाथ राजीनामा

सिन्धुली । निर्वाचनको संघारमै नेकपा निकट प्रेस सेन्टर नेपाल, सिन्धुलीका जिल्ला अध्यक्ष बुद्ध नेपाली र सचिव मनोज दाहालले एकसाथ राजीनामा दिएका छन्। चुनावी माहोल तातेको बेला आएको यो निर्णयलाई नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) का लागि अप्रत्याशित धक्का रूपमा हेरिएको छ।

राजीनामाको औपचारिक कारण सार्वजनिक गरिएको छैन। तर पार्टीभित्र बढ्दो असन्तुष्टि, निर्णय प्रक्रियामा देखिएको असहमति तथा नेतृत्वशैलीप्रति असहजताका कारण यस्तो कदम चालिएको चर्चा छ। जिल्ला तहमा केही समयदेखि देखिएको आन्तरिक खिचातानी निर्वाचनको मुखैमा सतहमा आएको विश्लेषण गरिएको छ।

सिन्धुली प्रतिनिधिसभा–२ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) चुनावी मैदानमा छन्। सोही क्षेत्रमा केन्द्रीय सदस्य महेश्वर दाहाल ‘मुढा’ चिन्ह लिएर स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्। महेश्वर दाहाललाई नेता हरिवोल गजुरेलसहित इन्चार्ज बुद्धिमान माझी (बसन्त), केन्द्रीय सदस्य दिग्घराज श्रेष्ठ, जिल्ला संयोजक पानीराज बम्जन र जिल्ला सचिव विनोद विक लगायतका केही प्रभावशाली नेताको साथ रहेको बताइएको छ।

अध्यक्ष नेपाली र सचिव दाहाल दुवैको मतदान क्षेत्र प्रतिनिधिसभा–२ मै पर्ने भएकाले उनीहरूको राजीनामालाई स्वतन्त्र उम्मेदवारतर्फ ‘साइलेन्ट सपोर्ट’ का रूपमा अर्थ्याइएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर