प्रचण्डसहित २१ नाम सिफारिस: सिन्धुलीमा नेकपाको उम्मेदवारी रस्साकस्सी!

सिन्धुलीमाढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुलीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ १० जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

दुई निर्वाचन क्षेत्र मात्र रहेको सिन्धुलीमा प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि सहमति जुट्न नसकेपछि ११ जनाको नाम केन्द्रमा पठाइएको हो। ‘जसले दाबी गर्‍यो, सबैको नाम पठाउने’ निर्णय गरिएको भन्दै जिल्ला तहका नेताहरू नै असन्तुष्ट देखिएका छन्।

क्षेत्र नं. २ बाट केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित हरिबोल गजुरेल, पानीराज बम्जन, महेश्वर दाहाल, अनिता राई र युवा उम्मेदवार सुमन रानाको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। समानुपातिकतर्फ भने भरत योञ्जन, चित्र पुलामी मगर, शुभकुमारी गुर्मछान, ज्ञानबहादुर राई र शान्ता पाख्रीनको नाम पठाइएको छ।

त्यसैगरी, अघिल्लो निर्वाचनमा हरिबोल गजुरेललाई पाखा लगाएका लेखनाथ दाहाल (राजन)लाई यसपटक क्षेत्र नं. २ बाट हटाएर क्षेत्र नं. १ मा सारिएको छ। क्षेत्र नं. १ बाट लेखनाथ दाहालसहित चित्र लुङ्गेली मगर, डेकेन्द्र सुवेदी, जानुका तिमिल्सिना र युवा उम्मेदवार विजय खड्काको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको छ। समानुपातिकतर्फ बन्दना सुवेदी, विनोद विश्वकर्मा, विष्णु सुनुवार (विक्रम), यमकुमार दनुवार र सर्मिला श्रेष्ठ सूचीमा परेका छन्।

उम्मेदवार सिफारिसको सूचीभन्दा पनि बढी विवादको विषय भने निर्णय प्रक्रिया बनेको छ। बागमती प्रदेश कार्यालयले पुष ९ गते जारी गरेको परिपत्रमा जिल्ला कार्यसमितिको बैठकबाट उम्मेदवार सिफारिस गर्न स्पष्ट निर्देशन दिएको थियो। तर त्यसको भोलिपल्टै, पुष १० गते केन्द्रीय कार्यालयले अर्को परिपत्र जारी गर्दै जिल्ला इन्चार्ज, संयोजक र सचिव रहेको कार्यदलमार्फत निर्णय गर्न आदेश दिएको थियो।

केन्द्रीय संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको हस्ताक्षरमा आएको उक्त परिपत्रपछि जिल्ला संयोजक पानीराज बम्जनले केन्द्रको पछिल्लो निर्देशनअनुसार कार्यदलले छलफल गरी उम्मेदवार सिफारिस गरिएको दाबी गरेका छन्। तर पार्टीभित्रै विधि मिचिएको, जिल्लालाई साइडलाइन गरिएको र गुटगत दबाबका आधारमा सूची बनाइएको भन्दै असन्तोष बढ्दै गएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर