सिन्धुलीमा एकै दिन दुई प्रभावशाली महिला नेतृले एमाले छाडे

सिन्धुलीमाढी । नेकपा (एमाले) सिन्धुलीका दुई जना प्रभावशाली महिला नेतृहरूले एकै दिन पार्टी छाडेपछि संगठनभित्र तरंग फैलिएको छ। नेकपा एमाले सांस्कृतिक विभागकी केन्द्रीय सदस्य लक्ष्मी गुरुङ र अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीकी जिल्ला अध्यक्ष शान्ता पाख्रीनले शुक्रबार एमाले परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रोजेका छन्।

महिला संगठनको कमान्ड सम्हालिरहेकी जिल्ला अध्यक्ष नै पार्टी छाडेर हिँड्नु सामान्य राजनीतिक घटना होइन। झन्, नेतृत्वले ‘सबै ठीकठाक’ देखाउन खोजिरहेका बेला यस्तो घटना घट्नु एमाले सिन्धुलीका लागि थप असहज बनेको छ।

रोचक संयोग के छ भने, एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनपछि सिन्धुलीबाट निर्वाचित केन्द्रीय सदस्यहरू विषमलाल अधिकारी दनुवार, निरु दर्लामी, प्रदीप कटुवाल तथा केन्द्रीय आयोग सदस्यहरू रणकुमारी बलम्पाकी र घनेन्द्र श्रेष्ठलाई बधाई तथा शुभकामना दिइरहँदा आफ्नै भातृ संगठन अनेमसंघकी जिल्ला अध्यक्ष पाख्रीन भने पार्टी कार्यालयबाट करिब दुई सय मिटर टाढा रहेको तत्कालीन माओवादी, हालको नेकपाको कार्यालयको दैदो टेक्न पुगिन्। एमालेले भित्र उत्सव मनाइरहँदा बाहिर भने संगठन खस्किँदै गएको दृश्य स्पष्ट देखाउँछ।

गोलन्जोर–४, रानीखोला निवासी लक्ष्मी गुरुङलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गराएका थिए। त्यसैगरी, शान्ता पाख्रीनलाई नेकपा सिन्धुली जिल्ला पार्टी कार्यालयमा जिल्ला इन्चार्ज बुद्धिमान माझी, जिल्ला संयोजक पानीराज बम्जन, निवर्तमान सांसद लेखनाथ दाहाल तथा महिला नेतृहरू बन्दना सुवेदी र सुष्पा भुजेल (आस्था)लगायतले स्वागत गरे।

एकै दिन, एउटै जिल्लाबाट, त्यो पनि पार्टी र भातृ संगठनमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका दुई महिला नेतृ एमालेबाट बाहिरिनुले सिन्धुली एमालेभित्रको असन्तुष्टि सतहमा आएको संकेतका रूपमा हेरिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर