जबजसँग आत्मासमर्पण गर्ने हो भने छोरासँग होइन, बा सँग गरौं- न्यौपाने
सिन्धुली । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरु गरेको बामपन्थी एकता अभियानमै अहिले आफ्नै नेताहरू बागी बन्दै खुलेका छन्। बागमती प्रदेश माओवादी केन्द्रका सदस्य तथा सिन्धुलीको गोलन्जोर गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने ‘पुकार’ले प्रचण्डकै नेतृत्वविरुद्ध खुलेर प्रश्न उठाएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सँग पार्टी एकताको तयारी अघि बढेपछि न्यौपानेले सामाजिक सञ्जालमा प्रचण्डमाथि तीखो व्यङ्ग्य गरेका छन्। उनले लेखेका छन्— “माओवाद र गोलाकारभित्रको हँसिया–हथौडा छोड्ने हो भने त्यो जनताको बहुदलीय जनवादसँग आत्मसमर्पण हो। त्यसो भए छोराहरूसँग होइन, मालिकसँग — ‘बा सँग’ नै एकता गरौं।” अर्थात् एकिकृत सामाजवादी सँग एकता गर्नुभन्दा एमालेसंग विलय हुनुनै उत्तम हुने बताएका छन्।
न्यौपानेको यस भनाइले पार्टीभित्रै नयाँ तरंग ल्याएको छ। उनी विगतमा सिन्धुलीमा प्रचण्डकै नाममा संगठन चलाउने मानिन्थे, तर अहिले उनी खुलेर समाजवादीसँगको एकताको विरोधमा उत्रिएका छन्। उनको सामाजिक सञ्जालमा लेखिएको स्टाटसमा एमालेका केही नेताहरूलाई समेत मेन्सन गरिएको छ, जसले राजनीतिक तरंग थपेको छ।
उनले लेखेका छन्— “माओवाद छोड्ने हो र चुनाव चिन्ह गोलाकारभित्रको हँसिया–हथौडा त्याग्ने हो भने जबजसँग आत्मासमर्पण हुन जान्छ। मालिकसँग नै (बा सँग) एकता गरौं, किन छोराहरूसँग (एससँग) गर्नु?”
यसअघि पनि माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सदस्य एवम् पूर्व सांसद लेखनाथ दाहालले सामाजिक सञ्जालमार्फत प्रचण्डको एकता अभियानको विरोध गरेका थिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया