कुलमानलाई किचकिच गरेर सरकारले गलत गर्दैछः गगन थापा

सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारका कामको आलोचना गरेका छन् । गर्न पर्ने अनेक काम छाडेर सरकार विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पछि लागेको भन्दै महामन्त्री थापाले आलोचना गरेका हुन् ।
उनले सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलन उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै कुलमानलाई किचकिच किचिकिच गरिरहनु सरकार ढंग नपुगेको हो वा बदनियत हो भन्ने आफूले बुझ्न नसकेको बताए ।
सरकारलाई सुझाव दिँदै भने, ‘५० वटा राम्रो काम गर्दा पनि एउटा नराम्रो काम भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । कि राम्रो गर्नुस्, राम्रो नसके कम्तीमा नरोम्रो काम नगर्नुस् ।’
तीन, चार महिनापछि सेवानिवृत्त हुन लागेको व्यक्तिको पछि लागेर सरकारले किचकिच किचकिच गरिरहनु उपयुक्त नभएको उनको भनाइ छ ।
‘ऊर्जा मन्त्रालय अन्तर्गत विद्युत प्राधिकरण छ । त्यसका प्रमुख प्रशासकीय अधिकृतको एउटा प्रकरण हामी सुनिरहेका छौं । मैले बुझ्न सकिरहेको छैन, बदनियत हो कि बेढंग हो,’ उनले भने, ‘ती व्यक्ति ३, ४ महिनापछि सेवा निवृत्त हुँदैछन् । सेवा निवृत्त भइसकेपछि उपयुक्त मान्छे ल्याउने त्यो संस्थाको नेतृत्व गर्न दिने । तर, सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको देखिन्छ । किचकिच किचकिच गरिरहेको देखिन्छ । यस्तो ठीक हुँदैन । उपयुक्त हुँदैन ।’
महामन्त्री थापाले यस्ता नचाहिने काममा कोही पनि मन्त्री लाग्नु नहुने बताए । ऊर्जा मन्त्रालय उनकै पार्टीका सांसद दीपक खड्काले नेतृत्व गरिरहेका छन् ।
मन्त्रीहरू नचाहिने काममा लागे त्यसलाई प्रधानमन्त्रीले रोक्नु पर्ने भन्दै थापाले प्रधानमन्त्रीलाई सुझावसमेत दिए ।
‘मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको हो । प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि उसैले पाउँछ, नरोम्रो कामको अपजस पनि लिनुपर्छ,’ थापाले भने ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया