भूमि समस्या समाधान आयोग सिन्धुलीको अध्यक्षमा कौशल कोइराला

सिन्धुली । सरकारले ७१ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । भूमि समस्या समाधान आयोग सिन्धुलीको अध्यक्षमा कौशल कोइराला नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मन्त्रिस्तरीय निर्णयले सिन्धुलीको अध्यक्षमा नेकपा एमालेका नेता कोइरालालाई नियुक्त गरेको हो ।

गठबन्धनमा रहेका कांग्रेस र एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेका हुन् । एमालेको भागमा परेको सिन्धुलीबाट  एमाले बागमती प्रदेश कमिटी सदस्य समेत रहेका कौशल कोइराला अध्यक्षमा नियुक्त भएका हुन् । भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीले नवनियुक्त अध्यक्षहरूलाई  सोमबार शपथ गराएका छन् । यस्तै सदस्यमा एमालेबाट देवराज वाईवा नियुक्त भएका छन् ।

नेपाली कांग्रेसको कोटामा अब थप दुई जना सदस्य नियुक्त हुनुहुने छन् । स्रोतका अनुसार कांग्रेसले सदस्यको नाम अहिलेसम्म मन्त्रालयमा बुझाउन सकेको छैन ।

सरकारले यसअघि एमाले नेता हरि रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो । हरेक जसो सरकारले आयोग मार्फत कामै सम्पन्न नगरे पनि कार्यकर्ता व्यवस्थापनको शैलीमा यसको उपयोग गर्दै आएको छ । जिल्ला अध्यक्षको तलब सुविधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछ । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछ ।

सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५-३५ जिल्ला र ७ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो । सहमतिमा जिल्लाको नेतृत्व मिलाउने भनिए पनि एमाले र कांग्रेसले पाएकै केही जिल्लामा आन्तरिक विवादका कारण टुंगो लाग्न सकेको छैन ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर