सिन्धुली एमालेबाट प्रधानमन्त्री ओलीलाई बाढी पहिरोबारे ध्यानाकर्षण

काठमाडौं । सिन्धुली एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सिन्धुलीका बाढी पहिरो प्रभावित क्षेत्रका समस्याबारे ध्यानाकर्षण गराएको छ ।

एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ नेतृत्वको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई भेट गरी बाढी पहिरो पीडितको समस्या, बीपी राजमार्ग निर्माण लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

असोज १० र ११ गते परेको अविरल वर्षाका कारण भएको समस्यामा पार्टीको तर्फबाट उद्दार, पुनस्र्थापना र राहतका लागि सहयोग पुर्याउँदै आएको बताउँदै अध्यक्ष श्रेष्ठले सरकारले बीपी राजमार्ग निर्माण र पीडित जनताका समस्या सम्बोधन गरिदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रधानमन्त्री ओलीले बाढी पहिरो पीडितका समस्या समाधानका लागि सरकार गम्भीर रहेको भन्दै बाढी पहिरो प्रभावितको पुनस्र्थापनाका लागि सरकारले निरन्तर काम गरिने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गरे ।

उनले पछिल्ला मन्त्रिपरिषद्का बैठक र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का बैठकबाट समयतालिका तोकेर राहत र पुनर्स्थापनाका काम प्रभावकारी रुपमा अघि बढाउन निर्णय गरिएको जानकारी गराए ।

उनले सरकार सबै सम्बन्धित अङ्गले पीडितका पक्षमा सक्दो काम गरिरहेकाले अराजकता र अस्थिरता मच्चाउन चाहनेहरुले फैलाएका अनावश्यक भ्रम चिरेर ढुक्कसाथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

अध्यक्ष श्रेष्ठले जिल्लाका चार पालिकालाई सङ्कटग्रस्त घोषणा गरेकामा सरकारलाई धन्यवाद दिँदै किसानका पाकेका धानबाली र सयौँ सङ्ख्यामा पशु चौपायाहरुमा समेत क्षति भएकाले पुनर्निर्माण र पुनर्स्थापनाका कामलाई अगाडि बढाउँदै किसानलाई विशेष राहतको प्याकेज व्यवस्था गरेका छन् । सो अवसरमा अनुशासन आयोगका अध्यक्ष केशव बडाल, बागमती प्रदेशका इञ्चार्ज डा। राजन भट्टराई, सिन्धुली जिल्ला इञ्चार्ज मनोजजंग थापा, सांसद रणकुमारी बलम्पाकी, पूर्वसांसद गणेश पहाडी लगायतका नेताहरुको उपस्थिति थियो ।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर