७ बुँदे दुधौली घोषणापत्र जारी गर्दै सकियो एमाले सिन्धुलीको चौथो पूर्ण बैठक

दुधौली  । सिन्धुलीको दुधौलीमा जारी एमाले सिन्धुलीको चौथो पूर्ण कमिटीको बैठक ७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

घोषणापत्रमा नेकपा एमाले विरुद्ध कपोल कल्पित भ्रामक, अनर्गल दुष्प्रचारको डटेर प्रतिवाद गर्न सम्पूर्ण पार्टी पंतिलाई परिचालन गर्ने र  यसलाई परास्त गर्ने प्रतिबद्धता छ ।

घोषणापत्रमा मरिण गाउँपालिका  ५ र ३ नम्बर वडाका स्थानीय बासिन्दालाई भ्रममा पारी , मरिण गाउँपालिका वडा नं ५ र ३ का ६०७ घरधुरीका  स्थानीयसँग  ३७९ बिघा जग्गा नापेको प्रति  कट्ठा रु ५०० का दरले  पैसा तत्काल फिर्ता गर्न आग्रह गर्ने र दोषीलाई कारबाहीको माग गरेको छ ।

हिजो पुष ४ गते नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उद्घाटन गरेको नेकपा एमाले सिन्धुलीको चौथो पूर्ण कमिटीको बैठक आज  सकिएको हो ।

यस्तो छ ७ बुँदे घोषणापत्र–

१. नेकपा (एमाले ) का श्रद्धेय अध्यक्ष एवं नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेतृत्व पंति एवं सिङ्गो नेकपा एमाले विरुद्ध कपोल कल्पित भ्रामक, अनर्गल दुष्प्रचार गरी चर्चामा आउनका लागि अनेक तिकडम गर्दै आएका सिन्धुलीका प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले आफ्नो पदीय मर्यादा भुलेर सिन्धुली जिल्ला कै बेइज्जत गर्ने  गरी गरिरहेको क्रियाकलाप प्रति यो बैठक गम्भीर आपत्ति एवं खेद प्रकट गर्दछ ।  उनको गतिविधिको डटेर प्रतिवाद गर्न सम्पूर्ण पार्टी पंतिलाई आग्रह गर्दछ ।

 

२. सिन्धुली जिल्लाको प्रमुख नदीको रूपमा रहेको कमला ,मरिण ,चँदाहा ,सुनकोशी आदि लगायत नदीले बर्सेनि हजारौँ हेक्टर खेतीयोग्य जमिन कटान गरिरहेको छ । यी नदी नियन्त्रणका लागी गरेका सानातिना प्रयत्नले खास प्रतिफल प्राप्त भइरहेको छैन । नदी नियन्त्रणको गुरुयोजना निर्माण हाम्रै नेतृत्वका  सरकारले गरेका छन् । त्यस अनुरूपको पर्याप्त  बजेट विनियोजन गरी कमला लगायतका नदी नियन्त्रण गर्ने खास गरी कमला खोज क्षेत्रमा  कमला कोरिडोर निर्माण कार्यलाई तत्काल व्यवस्थित गर्दै  अगाडी बढाउन नेपाल सरकारलाई यो बैठक हार्दिक आग्रह गर्दछ ।

 

३. सिन्धुली जिल्लाको मरिण गाउँपालिकाको माओवादी केन्द्र नेतृत्वको सरकारले मरिण गाउँपालिका  ५ र ३ नम्बर वडाका स्थानीय बासिन्दालाई भ्रममा पारी , मरिण गाउँपालिका वडा नं ५ र ३ का ६०७ घरधुरीका  स्थानीयसँग  ३७९ बिघा जग्गा नापेको प्रति  कट्ठा रु ५०० का दरले  पैसा  लिइएको लिई भूमि आयोगको कार्यविधिमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित परिवारको लगत सङ्कलन र जग्गा नापीका लागि कुनै शुल्क लिन पाउने व्यवस्था विपरीत कार्य गरेकाले यो बैठक उक्त कार्यको आपत्ति प्रकट गर्दछ । जनताको पैसा तत्काल फिर्ता गर्न आग्रह गर्दछ तथा दोषीलाई कारबाहीको माग गर्दछ ।

 

४. मिति २०८१ मङ्सिर २६ गतेका दिन मरिण गाउँपालिका वडा नं ५ का ऐमान गोले र नक्दले गोलेले लाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले  अनावश्यक दुख दिने नियतले गाई मारेको आरोपमा उजुरी गरी  पक्राउ गराउने तथा दुख दिने कार्य गरेको कार्यप्रति हाम्रो पार्टी खेद प्रकट गर्दछ । आफै आरोप लाउने आफै छुटाउन खोज्ने दोहोरो चरित्र नदेखाउन आग्रह गर्दछ ।

 

५. गत असोज १० देखि १२ गते आएको अविरल वर्षाका कारण जिल्लाका तीन वटा पालिकाहरू सुनकोशी गाउँपालिका,फिक्कल गाउँपालिका र गोलन्जोर गाउँपालिकाको रोशी र सुनकोशी नदी  तटीय क्षेत्रका बस्तीहरू  तथा हरिहरपुर गढी गाउँपालिकाको वडा नम्बर १ २ ३ र ४ का बस्तीहरूमा बागमती नदीमा आएको बाढीका कारण   निम्तिएको प्राकृतिक विपत्तिले  धनजनको व्यापक क्षति गर्नुका साथै  विकास निर्माणका संरचनाहरू  विनाश गरेर जनजीवन अस्तव्यस्त बनाएको छ । प्राकृतिक विपत्तिमा परी पाँच जनाको ज्यान जानुको साथै  सयौँ निजी घरहरू हजारौँ हेक्टर  बालीनाली सहितका   खेतीयोग्य जमिनहरू विकासका पूर्वाधारका संरचनाहरू  ध्वस्त भएका ,जिल्लामा सञ्चालित तीन वटा मुख्य राजमार्गहरू, बिपी राजमार्ग, पुष्पलाल मध्य पहाडी लोक मार्ग र मदन भण्डारी मार्गमा  क्षति पुर्‍याउने पालिका सदरमुकाम जाने मार्गहरू, क्षेत्रीय स्तरका पालिका स्तरका र वडा स्तरका सम्पूर्ण  सडकहरूमा क्षतिका साथै जनजीवनलाई प्रभावित बनाउनुका साथै खानेपानी,  बिद्युत सेवा, सूचना सञ्चार र प्रविधिमा पनि असर पुगेको सम्बन्धमा नेकपा एमाले नेतृत्वको सरकार, स्थानीय सरकार, पार्टी पंति, जनसंगठन तथा विभिन्न कमिटीहरू तथा नेता तथा कार्यकर्ताहरूले उद्धार, राहत, पुन निर्माण , पुन संरचनाको कामका लागि देखाएको तदारुकताका लागि यो बैठक हार्दिक धन्यवाद व्यक्त गर्दछ । बिपी राजमार्ग, पुष्पलाल लोक मार्ग लगायतका मार्गहरूको वर्षामा पनि चल्ने गरी तत्काल पुन निर्माणको लागि बैठक हार्दिक आग्रह गर्दछ ।

 

६. सिन्धुली जिल्ला उद्योग, बन, पर्यटन,कृषि, पशुपालन, जुनार विकासको लागि पर्याप्त सम्भावना भएको जिल्ला भएकाले यी क्षेत्रमा युवा, महिला केन्द्रित कार्यक्रम ल्याउन नेपाल सरकार सँग यो बैठक , हार्दिक अनुरोध गर्दछ ।

७. कमलामाई नगरपालिका वडा नं १३ स्थित सुनखानी मडाहा जोड्ने पक्की पुल निर्माणका लागि हाम्रो पहलमा बागमती प्रदेशका तत्कालीन अर्थमन्त्री जगन्नाथ थपलियाले १५ करोड रुपैयाँ विनियोजन भैसकेको परिस्थितिमा हाल सम्म बोलपत्र निकालेर काम अगाडि बढाउने कार्य नभएकाले तत्काल काम अगाडी बढाउन यो बैठक हार्दिक आग्रह गर्दछ ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर