चियाबारी–सिन्धुलीगढी पदयात्राको तयारी पूरा

सिन्धुली । इतिहास, पहिचान संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको “चियाबारी–सिन्धुलीगढी पदयात्रा” को सम्पूर्ण तयारी पूरा भएको पदयात्राको व्यवस्थापनको जिम्मेवारी पाएको नेपाली सेनाको सिन्धुलीस्थित भवानी बक्स गणले जनाएको छ।

नेपाली सेनाको मध्यपूर्वी पृतना को आयोजना तथा श्री नं. ९ बाहिनी अड्डा को समन्वयमा “इतिहासको जगेर्ना, पहिचानको संरक्षण, पर्यटन प्रवर्द्धन” भन्ने नारासहित आगामी जेठ ३० गते पदयात्रा आयोजना गर्न लागिएको हो। चियाबारी बजारबाट सुरु हुने पदयात्रा ८ किलोमिटर दुरी  पुरा गरेर ऐतिहासिक सिन्धुलीगढी पुगेर सम्पन्न हुनेछ। साथै पदयात्रासँगै ‘Run for Own Health–2083’ दौड प्रतियोगिता पनि सञ्चालन गरिने आयोजकले जानकारी दिएको छ।

पदयात्रामा नेपाली सेना, नेपाल प्रहरी, प्रशासन, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, व्यवसायी तथा सर्वसाधारण गरी करिब ७ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार पदयात्राको मुख्य उद्देश्य ऐतिहासिक मार्ग तथा सम्पदाको संरक्षण र प्रवर्द्धन, स्थानीय पर्यटन विकास, युवापुस्तामा राष्ट्रिय इतिहासप्रति जागरण तथा प्रकृति, संस्कृति र इतिहासलाई जोड्ने अवसर सिर्जना गर्नु हो।

बिपी राजमार्ग निर्माणअघि सिन्धुलीगढी हुँदै महाभारत क्षेत्रको उत्तरतर्फ तथा रामेछाप, ओखलढुंगा र दोलखा लगायत जिल्लामा आवतजावत गर्ने प्रमुख मार्ग यही थियो। सोही ऐतिहासिक बाटोलाई अहिले पदमार्गका रूपमा विकास गरिएको छ। पदयात्राको रुट चियाबारी–ग्वाङखोला–हात्तीढुंगा–सिरवानी–ढुंग्रेभन्ज्याङ–साउनेपानी हुँदै गढी प्रवेशद्वार सम्म तय गरिएको छ।

पदयात्रामा सहभागीहरूले सिन्धुलीगढी क्षेत्रको ऐतिहासिक महत्वसँगै चियाबारीका डाँडाकाँडा, जंगलका गोरेटो बाटा, प्राकृतिक दृश्यावलोकन तथा स्थानीय जैविक विविधताको अनुभव गर्न सक्नेछन्।

सिन्धुलीगढी नेपाली इतिहासको महत्वपूर्ण स्थल हो। यहाँ वि.सं. १८२४ मा क्याप्टेन किनलक नेतृत्वको ब्रिटिस फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक घटना जोडिएको छ।

इतिहास, प्रकृति र पर्यटनको संगमस्थल सिन्धुलीगढीसम्मको पदयात्रामा सहभागी भई ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउन आयोजकले सबैमा आह्वान गरेको छ। नेपाली सेनाले यो पदयात्रा कार्यक्रम वि.सं. २०८१ सालदेखि सञ्चालन गर्दै आएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर