हुलाकमार्फत घरदैलोमै राहदानी सेवा, सिन्धुलीमा पहिलो वितरण गोलन्जोरबाट
सिन्धुली । नागरिकलाई सरकारी सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यसहित सिन्धुलीमा हुलाकमार्फत राहदानी वितरण सेवा सुरु गरिएको छ । सेवा प्रारम्भसँगै पहिलो राहदानी गोलन्जोर गाउँपालिकाबाट वितरण गरिएको हो ।
नेपाल सरकारको २०८२ चैत १३ गतेको निर्णयअनुसार स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एकसय कार्यसूची’को बुँदा नम्बर २७ अनुसार सरकारी सेवा नागरिकको पहुँचमा पुर्याउने अभियानअन्तर्गत यो सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत प्रवीन कटवालले जनाकारी दिए ।
सेवा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच २०८३ वैशाख २९ गते समझदारी भएको थियो । त्यसपछि २०८३ वैशाख ३० गतेदेखि राहदानीसम्बन्धी विवरण संकलन कार्य सुरु गरिएको हो ।
सोही अभियानअन्तर्गत तयार भएको पहिलो राहदानी गोलन्जोर गाउँपालिका–७, साघुचेक पोस्ट निवासी विनिशा माझीलाई वितरण गरिएको छ । उनको राहदानी जिल्ला हुलाक कार्यालय सिन्धुलीअन्तर्गत ग्वालटारस्थित हुलाक कार्यालयमार्फत हस्तान्तरण गरिएको जनाइएको छ ।
यसअघि राहदानी लिन सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालयनै आईपुग्नुपर्ने बाध्यता थियो । नयाँ व्यवस्थासँगै ग्रामीण भेगका नागरिकले आफ्नै क्षेत्रबाट सहज रूपमा राहदानी सेवा पाउने अपेक्षा गरिएको छ । प्रशासनले आगामी दिनमा सेवाको दायरा थप विस्तार गर्दै जिल्लाभर प्रभावकारी रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया