ग्वाल्टारमा नयाँ खानेपानी आयोजना सम्पन्न, उपभोक्तालाई हस्तान्तरण

५ जेष्ठ २०८३,सिन्धुली। गोलन्जोर गाउँपालिकाको केन्द्र समेत रहेको ग्वाल्टारमा निर्माण गरिएको खानेपानी आयोजना सम्पन्न भई उपभोक्ता संस्थालाई हस्तान्तरण गरिएको छ। ग्वाल्टार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत सञ्चालन गरिएको उक्त आयोजना ब्याक टु लाइफ र सामुदायिक विकास पद्धति सिन्धुलीको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको हो।

गाउँपालिका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने, सामुदाय विकास पद्धतिका व्यवस्थापन प्रमुख अनुप पौडेल र प्रमुख विष्णु प्रसाद पौडेलको उपस्थितिमा आयोजना औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।

परियोजना व्यवस्थापन प्रमुख अनुप पौडेलका अनुसार ३७ लाख ९३ हजार रुपैयाँको लागतमा निर्माण गरिएको यस आयोजनाअन्तर्गत पाइपलाइन विस्तारसँगै दलित परिवारका लागि २२ वटा धारा जडान गरिएको छ। साथै ६० हजार र ३ हजार लिटर क्षमताका पानी ट्याङ्कीसमेत निर्माण गरिएको उनले जानकारी दिए।

उक्त खानेपानी आयोजनाबाट करिब २५० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। साथै ग्वाल्टार क्षेत्रमा बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै स्वच्छ खानेपानीको पहुँच विस्तारमा यस आयोजनाले महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर