सिन्धुली कांग्रेसको उम्मेदवार सिफारिस ‘मस्यौदा’ होइन—अन्तर्कलहको प्रत्यक्ष प्रहार
सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि नै नेपाली कांग्रेस सिन्धुलीमा आन्तरिक रस्साकस्सी खुल्ला रूपमा सतहमा देखिएको छ। दुई निर्वाचन क्षेत्र भएको जिल्लामा कांग्रेसले प्रत्यक्ष तथा समानुपातिक गरी १५ जनाको नाम सिफारिस गरेको दाबी गरे पनि प्रक्रियाभन्दा गुटगत चलखेल बढी निर्णायक बनेको स्थानीय नेतृत्व आफैं स्वीकारिरहेको छ।
क्षेत्र नम्बर–१ बाट अघिल्लो प्रतिनिधिसभाका प्रमुख सचेतक तथा केन्द्रीय सदस्य श्यामकुमार घिमिरेलाई पहिलो नाम राखिएको छ। तर उनले आन्तरिक निर्वाचन भए पराजित हुने सम्भावना र घेराबन्दीको संकेत पाएपछि नै ‘सबैको नाम पठाउने’ निर्णय गराएको क्षेत्रीय नेताहरू खुलस्त बताइरहेका छन्। पार्टीको आधिकारिक मापदण्डले प्रत्यक्षमा अधिकतम ३ नाउँ मात्र सिफारिस गर्न सकिने भन्दै आएको बेला क्षेत्र नम्बर–१ बाट १२ जनाको सूची पठाइनु मापदण्ड र अनुशासन दुबैप्रति गरिएको खुला धज्जी उडाएको छ।
क्षेत्र नम्बर–१ सिफारिस समितिमा आकांक्षी धेरै भएकाले सहमति जुटेन। तर मतदातामाझ लोकप्रियता परीक्षण गर्ने निर्वाचनको विकल्पसमेत कार्यतालिका बनाइसकेपछि ‘हारिने डरले’ चुनाव रोकिएको आरोप समितिका बैठकमा उठेको बताइन्छ। प्रभावशाली नेताको दबाबले नै आकांक्षी सबैको नाम एकैपटक पठाइएको आरोप क्षेत्रीय कार्यकर्ताले लगाएका छन्।
क्षेत्रीय सभापति कर्णबहादुर थापाका अनुसार मंसिर २४ र २५ मा बसेको बैठकले प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ ४ जनाको नाम पठाएको छ। तर यो ‘सिफारिस’ भन्दा पनि ‘भित्तामा नाम टाँसिएजस्तै’ सूची प्रस्तुत गर्ने काम भएको कार्यकर्ताको टिप्पणी छ।
प्रत्यक्ष सिफारिसमा घिमिरेपछि पूर्वसभापति उज्वलप्रसाद बराल र पूर्व जलस्रोत समिति सभापति मोहनप्रसाद बराल छन्। त्यसपछि प्रेमचन्द्र दाहालदेखि अञ्जनी कोईरालासम्म १२ जनाको लामिनो सूची छ। सिफारिसको सूचीमा परेका कतिपय नेताको वास्तविक संगठनात्मक योगदानभन्दा ‘सम्बन्ध र पहुँच’ नै निर्णायक भएको आन्तरिक असन्तुष्टि झपक्कै सुनिन्छ।
समानुपातिकतर्फ गंगा दाहाल, इन्दिरा निरौला, भद्रिमाया मगर र चेतप्रसाद भट्टराईको नाम राखिएको छ। राष्ट्रिय सभातर्फ विनोदकुमार गुरुङलाई सर्वसम्मत गरिएको भए पनि यो पनि ‘सर्वसम्मति होइन, श्रेष्ठ नेतृत्वको निर्देशन’ भन्दै केही कार्यकर्ताले खिन्नता व्यक्त गरेका छन्।
क्षेत्र नम्बर–२ ले भने तुलनात्मक रूपमा मापदण्डअनुसार ३ प्रत्यक्ष र २ समानुपातिक नाम पठाएको छ। प्रत्यक्षतर्फ सुशिला थिङ, खड्गबहादुर वाइबा र डम्बर कार्की छन्। समानुपातिकतर्फ पूर्व प्रदेश सांसद विजुला बर्मा र नरेन्द्रजंग थापा सिफारिस भएका छन्।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया