गोलन्जोर अस्पताल सञ्चालनको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञवालीसँग अध्यक्ष बरालको छलफल

सिन्धुली, १७ साउन — गोलन्जोर गाउँपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको सहकार्यमा गाउँपालिकाको केन्द्र ग्वालटारमा निर्माण सम्पन्न भएको १५ शैयाको आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा छ। सेवा प्रभावकारी, दिगो र गुणस्तरीय बनाउन दुई संस्थाबीच सहकार्य गर्ने गरी कार्य अघि बढाइएको हो।
गाउँपालिका अध्यक्ष शंकराज बरालले प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवालीसँग अस्पताल सञ्चालन, व्यवस्थापन, दक्ष जनशक्ति परिचालन र स्वास्थ्य अनुसन्धानका विषयमा शुक्रबार (हिजो) विस्तृत छलफल गरेका छन्। बरालले उपकुलपति ज्ञवालीलाई अस्पतालको भौतिक संरचना तथा अवस्थाबारे स्थलगत अवलोकन गर्न आग्रहसमेत गरेका छन्।
गोलन्जोर सँगै फिक्कल, सुनकोशी तथा रामेछाप, ओखलढुंगा र खोटाङका सीमावर्ती बासिन्दालाई समेत लक्षित गरी निर्माण गरिएको यो अस्पताल मध्यपहाडी लोकमार्गको सहज पहुँचमा पर्छ। यसले ग्रामीण भेगका नागरिकलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।
गाउँपालिकाको २०८२ असार २७ गते सम्पन्न गाउँसभा बैठकले प्रतिष्ठानसँग सहकार्य गरेर अस्पताल सञ्चालन गर्ने निर्णय गरिसकेको छ। सहकार्यका आधारमा अस्पतालमार्फत प्राथमिकदेखि विशेषज्ञ तहसम्मका सेवा विस्तार गर्ने र स्वास्थ्य अनुसन्धानलाई प्रवर्द्धन गर्ने योजना अघि सारिएको छ।
उपकुलपति डा. प्रदीप ज्ञवालीले भने, “स्थानीय तहको अग्रसरता र इच्छा शक्ति प्रशंसनीय छ। हामी आवश्यक प्राविधिक सहयोग, दक्ष जनशक्ति र स्वास्थ्य सेवाको स्तरोन्नतिका लागि सहकार्य गर्न तयार छौँ। गोलन्जोरमा सञ्चालन हुन लागेको अस्पताल क्षेत्रीय स्वास्थ्य सेवा विस्तारको दृष्टिले महत्वपूर्ण अवसर हो।”
स्थानीय तह र प्रतिष्ठानको साझेदारीमा अस्पताल सञ्चालन भएपछि दुर्गम भेगका नागरिकले नजिकैबाट नै गुणस्तरीय सेवा लिन सक्ने वातावरण बन्ने विश्वास लिइएको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया