बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला सिन्धुलीमा सुरु

सिन्धुली । बागमती प्रदेश स्तरीय महिला कृषि उद्यम मेला-२०८१ सिन्धुलीमाढीमा सुरु भएको छ ।
११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को अवसरमा आयोजना गरिएको मेलाको शुक्रवार जिल्ला समन्वय समिति प्रमुख कार्साङ लामाले निमको बिरुवा रोपेर उद्घाटन गरेका थिए।
कमलामाई नगरपालिका ६ खुल्ला मञ्चमा सुरु भएको प्रदेश स्तरीय महिला कृषि उद्यम मेला फागुन २५ गतेसम्म चल्ने छ । मेला अवलोकनका लागि कुनै पनि शुल्क राखिएको छैन भने आफूले चाहेको सामान खरिद गर्न सकिनेछ ।
मेलामा बागमती प्रदेश अन्तर्गतका जिल्लाहरू सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, भक्तपुर, ललितपुर, नुवाकोट, रसुवा साथै सिन्धुलीका सबै स्थानीय तहका साना तथा मझौला महिला उद्यमीहरूले उत्पादन गरेका कृषिजन्य तथा हस्तकला सामग्रीको प्रदर्शनी र बिक्रीमा राखिएको छ ।
कार्यक्रम उद्घाटन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख लामाले जिल्लाका स्थानीय तहहरूले उद्यमशीलताका क्षेत्रमा लागेका महिला उद्यमीहरूलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा सौगात लघु उद्यम कृषि सहकारी संस्था लिमिटेड सिन्धुलीकी निवर्तमान अध्यक्ष विमला थापाले महिलाहरूको उद्यमशीलतालाई प्रोत्साहन गर्ने, नव प्रवर्धन लागी उत्साहित गराउने र स्थानीय श्रोत साधनको स्थानीय जनशक्तिबाटै उपयोग गर्ने गराउने मुख्य उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताइन।
मेलाको पहिलो दिन “कृषि र खाद्य” सम्बन्धी अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रतियोगितामा नवज्योति बहिरा माध्यमिक विद्यालय जसेदमार प्रथम, सिन्धुली पाठशाला द्वितीय र सिद्धस्थली अङ्ग्रेजी माध्यमिक विद्यालय तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका विद्यालयका विद्यार्थीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगरसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।चित्रकला प्रतियोगितामा कक्षा ५ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सौगात लघु उद्यम सहकारी संस्था लिमिटेड सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिका, कृषि विकास कार्यालय, उद्योग वाणिज्य संघ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग र मुना कृषि लिमिटेड ललितपुरको प्राविधिक सहयोगमा मेला सञ्चालन भइरहेको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया