होटल पौवाको आतिथ्य सत्कार अब सिन्धुलीको सुनकोशी किनारबाट

मुल्कोट। नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै आएको होटल पौवा ग्रुपले बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटमा सेवा बिस्तार गर्ने भएको छ । नेपालका विभिन्न क्षेत्रमा १३ वटा शाखा मार्फत सेवा दिँदै आएको पौवा ग्रुपले १४ औँ शाखा सिन्धुलीको मुलकोट स्थित सुनकोशी किनारमा सञ्चालन गर्ने भएको हो ।

काठमाडौँबाट ९० किलोमिटर पूर्व सुनकोशी नदीको किनारामा अवस्थित सिन्धुलीको मुलकोटबाट १४औँ शाखा सञ्चालन गर्न सम्झौता गरिएको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए ।

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रूपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष  भण्डारीले दाबी गरे । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए । ‘होटल प्रवेश गरेदेखि बिदाइ हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’

१२ वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले १३ औँ शाखाको रूपमा नेपालगन्जमा ५ तारे होटल निर्माणाधीन रहेको छ भने १४ औ शाखाको रुपमा सिन्धुलीमा सञ्चालन हुन थालेको हो । २० करोड बढी लगानी रहेको मुलकोट शाखाबाट हाल २४ वटा रुम सहित स्विमिङ पुलको सुविधा, बाल उद्यान, फलफूलको बगैँचा, स्नुकर, सेमिनार हलको सेवा उपलब्ध रहने पौवाका प्रमुख सञ्चालन अधिकृत कृष्ण गौतमले बताए । स्थानीय जातको लोकल कुखुरा र सुनकोशीको माछाका लागि मुलकोट यस अघि नै ख्याति कमाएको स्थल हो ।

‘मिसन १००’ को यात्रा

नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकरात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिसन १०० योजना बनाएको होटल पौवा देशभरका विभिन्न शहरका १२ स्थानमा सञ्चालनमा रहेको छ ।

विश्व शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा प्राकृतिक रमणीय स्थल सिन्धुली पुगेको होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, बागमती प्रदेशको काठमाडौँ, गण्डकी प्रदेशको पोखरा, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि नेपालगन्जमा निर्माणाधीन सहित सिन्धुलीमा १४ औँ शाखा सञ्चालन गर्ने भएको हो ।

पूर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भव:’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको स्थापना भएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले बताए ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर