तीनपाटनका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी सहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धादिङको रुवीभ्याली गाउँपालिकाको सडक निर्माणमा १० लाखभन्दा बढी अनियमितता भएको भन्दै,सिन्धुलीको तीनपाटन गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी सहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगी, इन्जिनियर सुदीप रेग्मी, लेखापाल बाबुलाल नेगी, सहायक इन्जिनियर लालमान तामाङ, वडा नम्बर ४ का तत्कालीन अध्यक्ष प्रशान्त तामाङलाई प्रतिवादी बनाएर आयोगले आइतबार मुद्दा दायर गरेको हो ।

साथै  उपभोक्ता समितिका अध्यक्ष अजयलाल तामाङ, सचिव सञ्जीव तामाङ र कोषाध्यक्ष सञ्चामाया तामाङलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आर्थिक वर्ष २०७६/०७७ मा उक्त गाउँपालिकाको वडा नम्बर ४ को बोराङस्थित पागोमादेखि स्कूलसम्मको शाखा सडक निर्माणका लागि सम्झौता गरिएको थियो ।

तर लागत अनुमानअनुसार काम नगरी कम कामलाई बढी देखाएर प्राविधिक प्रतिवेदन तयार गरी भुक्तानी गरिएको पाइएको अभियोगपत्रमा उल्लेख छ ।  १० लाख ८९ हजार ९८९ रुपैयाँ बढी भुक्तानी गरी भ्रष्टाचार भएको अख्तियारको दाबी छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर