वर्ष २०८० मा सर्वाधिक ‘हिट’ गीत दिने गायिका शान्ति श्री परियार

पछिल्लो समय लोकगीतलाई सम्झने बित्तिकै लोकगायिका शान्ति श्री परियार अग्रपंक्तिमा पर्छिन् । उनले आवाज भरेका अधिकांश गीतहरु युट्युबको ट्रेन्डिङमा पर्छन् ।
यस वर्षको सबैभन्दा धेरै भ्युज पाउने लोकप्रिय गीत ‘अरेली काँडैले मलाई च्वास्सै–च्वास्सै’ अझै पनि उतिकै गुञ्जिरहेको छ । यो गीत तीज ताका सार्वजनिक भएको थियो ।
पछिल्लो समय उनको आवाज दर्शक तथा स्रोताले अत्यधिक रुचाइरहेका छन् भने उनको क्रेज पनि बाक्लो छ । वि।सं। २०८० सालमा मात्रै उनको आवाजमा अरेली काँडासहित ‘तिमी र म जाम माया,’ ‘गोर्खे खुकुरी,’ ‘डाँडैको टुनी’ ‘दमाई महाराज’ जस्ता गीतहरु करोड क्लब र यस वर्षकै सर्वाधिक धेरै भ्युज पाउने गीतमा परेका छन् ।
यतिबेला उनको सुमधुर आवाजले लोक संगीतमा छलाङ नै मारिरहेको छ ।
पाँच वर्षअघि गायक तथा अभिनेता प्रकाश सपूतले बजारमा ल्याएको गीत ‘बोल माया’ एकाएक हिट भएपछि सो गीतमा समेत स्वर दिएकी शान्तिश्री त्यसपछि निरन्तर चर्चाको शिखरमा रहिन् । पछिल्लो समय उनले फिल्मका गीतमा समेत स्वर दिएकी छिन् ।
विकट गाउँमा जन्मिएकी कसरी बनिन् चर्चित गायिका?
शान्ति श्री परियारको जन्म रोल्पा जिल्लाको विकट गाउँ ह्वाँमा भएको थियो । उनको सात वर्ष सम्मको बाल्यकाल त्यहीँ बित्यो । त्यसपछि उनी रोल्पाको सदरमुकाम लिवाङ झरिन् ।
उनले लिवाङमा रहेको बालकल्याण उच्च माविबाट औपचारिक शिक्षा हासिल गरेकी थिइन् । सानै उमेरदेखि गीत संगीतमा निकै नै लगाव राख्ने शान्ति श्री आफ्नो विद्यालयमा तथा रोल्पामा हुने सांस्कृतिक कार्यक्रममा गीत गाउने गर्थिन् ।
गाउँमै स्टेजहरूमा गीत गाएर सबैको मन जितेकी उनले अहिले रोल्पालीहरूकी तारा बन्न पुगिन् । उनी आफ्नो पढाइ पूरा नहुँदै सानै उमेरमा काठमाडौँ आइन् र दोहोरी साँझमा गाउन थालिन् ।
सानो उमेरमा निकै दुःख–कष्ट गर्दै उनले पहिलो एल्बम ‘घर छ तीन तले’ मा स्वर दिइन् । गीत धेरै राम्रो भए पनि त्यस गीतले बजारमा त्यति राम्रो सफलता भने हात पार्न सकेन ।
त्यसपछि दुःख कष्ट गर्दै जाँदा उनले ‘एकतर्फी माया’ बोलको गीतमा स्वर दिने मौका पाइन् । जुन गीत उनको लागि कोसे ढुङ्गो साबित भयो ।
यो गीतले नेपाली सांगीतिक बजार बेस्सरी तताएको थियो ।
अनि लगत्तै उनले तेस्रो गीत मिलन लामासँगको ‘गाईलाई दाम्लो माछीलाई फुरुलुङ्ग’ मा स्वर दिइन् र त्यो गीत पनि नेपाली लोक दोहोरी क्षेत्रमा निकै नै चल्यो ।
त्यसपछि उनले धेरै गीतहरूमा आवाज दिने अवसर पाउँदै गइन् र गाउँदै गइन् । यस्तै उनले पशुपति शर्मासँग ‘बाँसको टुप्पो हल्लिएर’ बोलको गीतमा पनि स्वर दिइन् ।
जुन गीत पनि शान्तिश्रीका लागि निकै राम्रो लाभदायक बन्यो । उनले लोक तथा दोहोरी गीत मात्र नभएर आधुनिक गीत पनि गाउने गर्दछिन् ।
साथै चर्चित तीज गीत ‘बुहारी सुत्केरी भइछ’मा उनले स्वर तथा मोडलिङ पनि गरेकी छिन् । उनले वि।सं। २०७४ सालमा सर्वाधिक चर्चित गीत प्रकाश सपुतको शब्द, निर्देशनमा रहेको ‘बोल माया’मा स्वर दिएकी थिइन् ।
यो गीतले उनलाई नेपाली लोक दोहोरी क्षेत्रमा अझ निकै चर्चित बनायो । यसपछि भने उनलाई पछाडि फर्केर हेर्नै परेन ।
‘जाले रुमाल फाट्यो’, ‘घर कता हो बैनीको’, ‘छुट्नाई पो रैछ क्यारे,’ ‘एउटा फोटो पठाइदेउ नौजा’ले जस्ता उनले आवाज भरेका धेरै गीतहरु लोकप्रिय बनेका छन् । कलाकारिताको शुरुवाती चरणदेखि आजको समयसम्म आइपुग्दा गायिका विष्णु माझी सरह नै उनले आफ्नो क्रेज बनाउन सफल भएकी छिन् ।
अहिले उनलाई गीत रेकर्डिङ गर्न, देश तथा विदेशका स्टेज कार्यक्रमहरु प्रस्तुति दिन भ्याइनभ्याइ नै छ ।
सायद कलाकार चल्नुमा उनको शालीनता, सक्रियता र मेहनतले पनि निकै महत्वपुर्ण भूमिका खेल्दछ । यसैको एक उदाहरण हुन्, गायिका शान्ति श्री । यसले गर्दा नै उनको उचाइ बढेको छ ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया