महिलालाई सीप र स्वरोजगारमा जोड्न क्रिस्टलको गहना बनाउने तालिम
सिन्धुली / महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यसहित तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङमा सात दिने क्रिस्टल गहना निर्माण तालिम सुरु गरिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, तिनपाटन गाउँपालिकाको सहकार्य तथा सामूहिक सरोकार समाज सिन्धुलीको आयोजनामा सञ्चालन भएको तालिमको उद्घाटन शनिवार वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद गौतमले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा अध्यक्ष गौतमले गाउँपालिकाले महिलाको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै सीपमूलक कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सके महिलाले गाउँमै बसेर पनि आत्मनिर्भर बन्न सक्ने उल्लेख गरे ।
सामूहिक सरोकार समाज सिन्धुलीकी अध्यक्ष रमिता मानन्धरले आर्थिक रूपमा कमजोर, एकल, दलित तथा सीमान्तकृत महिलालाई उद्यमशीलतासँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिइन् । उनका अनुसार क्रिस्टल गहना बनाउने सीपले महिलालाई घरमै बसेर आयआर्जन गर्ने अवसर प्रदान गर्नेछ ।
कार्यक्रम संयोजक नवराज पहाडीका अनुसार तालिममा वडा नं. ७ का १२ जना र वडा नं. ८ का १३ जना गरी २५ जना महिलाको सहभागिता रहेको छ । तालिमपछि सहभागी प्रत्येक महिलालाई व्यवसाय सुरु गर्न २६ हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइने उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका लेखा प्रमुख अरुण रुपाखेती र लेखा सहायक अभिषेक मानन्धरले यस्ता तालिमले विपन्न महिलाको जीविकोपार्जन सुधारमा टेवा पुग्ने धारणा राखे ।
सात दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण कल्पना सेन्चुरीले गर्नेछिन् ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया