खबर यो पनि आइपुग्यो ती दुबै खच्चर मेरा थिए

अड्किनु [कविता]
पोहोर साल
यस्तै समयमा
बासी रोटी बुढाको घाँटीमा अड्कियो।
पानी पनि उनीसँग जान सकेन मुखमै अड्कियो।
पानी नपरेर
आलीधुर गरेको खेत पनि
बाँझै बस्यो
वीउ व्याडमै अड्कियो।
परीक्षा फि तिर्न नसकेर
एस इ इमा सामेल हुन नसकेको छोरो घरमा बसेन
मुम्बई पस्यो
कुन्नि किन उतै अड्कियो।
एक दिन बिहानै स्कुल हिँडेकी छोरी
फर्केर कहिल्यै आइन
उखुबारीमा अड्किएको उसको पछ्यौरी,
काँसघारीमा लापर्वाह भेटिएको उसको लास
मेरो आँखामा मात्रै अड्कियो
मेरी छोरीको कलिलो जवानीमा
गिद्धे आँखा अड्काउने बलात्कारी
सरकारको आँखामा परेर कि नपरेर हो
मैले चिच्याएको न्यायको आवाज
अदालतमा अड्किरह्यो।
बुढाको श्राद्ध गर्न
नुन, चामल,
दाल,तरकारी लिन हिजो बिहानै हिँडेका खच्चर
आज बिहानसम्म आइपुगेनन्
बाहुन आएर पनि श्राद्ध अड्कियो,
खाद्यान्न नभएर।
अलि ढिलो खबर आइपुग्यो
कर्णालीको पुलको लठ्ठा भाँच्चिएर
दर्जनौँ खच्चरको हूल पुलमा अड्कियो
फेरि साँझपख अर्को खबर आइपुग्यो
खच्चरहरूको उद्धार गरियो
दुइटाको मृत्यु भयो
खबर यो पनि आइपुग्यो
ती दुबै खच्चर मेरा थिए।
यति सुनिसकेर मेरो मुटुमा सास अड्कियो।
भगवान् !यदि पुनर्जन्म दिन्छौ भने
हामीलाई कर्णालीमा जन्मनबाट अड्काइदिनु।
अमला अधिकारी सिन्धुली ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा खासगरी सिन्धुली सहित देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । माईशिरमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला। हामीलाई पछ्याउनुभएकोमा धन्यवाद।
प्रतिक्रिया