किसानलाई निशुल्क बाख्रा वितरण

सिन्धुलीमाढी। विपन्न वर्गका किसानहरुको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिका वडा ५ ले निशुल्क बाख्रा वितरण गरेको छ ।
कमलामाई नगरपालिका–५ का विभिन्न समुदायका अति विपन्न तथा एकल महिलाहरुलाई आज विहीबार उन्नत जातको बाख्रा (पाठी) वितरण गरिएको हो । आर्थिक वर्ष २०८०-०८१ मा विपन्न एकल महिला आय आर्जन तथा महिला आयआर्जन शिर्षकमा विनियोजित बजेटबाट २२ जना किसानलाई क्रस जातको बाख्रा वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
यसका लागि वडाकार्यालयले रु १/१ लाख खर्च गरेको छ । निशुल्क वितरण गरिएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडाअध्यक्ष पुर्ण बहादुर खड्काले बाख्रापालन बाट राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।
बाख्रा हस्तान्तरण गर्दै खड्काले, “निशुल्क पाएको बाख्राको स्याहारसुसार र हेरचाह गरी यसबाट वर्षेनि राम्रो आम्दानी गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।” वडा नम्बर ५ का विभिन्न टोलहरु बाख्रापालनका लागि उपयुक्त वातावरण भएको वडा रहेको बताउँदै उहाँले व्यावसायिकरुपमा बाख्रापालन व्यवसाय अघि बढाउन आवश्यक रहेको जनाए ।
वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्रा कम्तीमा दुई वर्षसम्म आफ्नो घरमा पालेको हुनुपर्ने सर्त राखिएको छ । समय–समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयले कारवाही समेत गर्ने जानकारी दिए । वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन्


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर