क्रिस्टल गहना बनाउने तालिमपछि, महिलामा स्वरोजगारको उत्साह

सिन्धुली । महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सिन्धुलीको तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ्गमा सञ्चालन गरिएको सातदिने क्रिस्टल गहना बनाउने तालिम सम्पन्न भएको छ।

तीनपाटन गाउँपालिका सामाजिक विकास शाखाको आर्थिक सहयोग तथा सामुहिक सरोकार समाज सिन्धुलीको प्राविधिक सहयोगमा सञ्चालित तालिम शुक्रबार सम्पन्न भएको कार्यक्रम प्रमुख नवराज पहाडीले जानकारी दिए।

ग्रामीण महिलाहरूको आयआर्जन वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा वडा नं. ७ र ८ का २५ जना महिलाहरूको सहभागिता रहेको थियो। तालिममा सहभागीहरूलाई क्रिस्टलका माला, पोते, औँठी, टप, चुरा लगायतका आकर्षक गहना तथा सजावटी सामग्री बनाउने व्यवहारिक प्रशिक्षण दिइएको थियो। व्यवसाय सञ्चालनका लागि बीउ पूँजीस्वरूप तालिममा सहभागी महिलाहरूलाई तालिमसँगै प्रति उद्यमी २६/२६ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो। भने तालिममा कल्पना सेन्चुरीले प्रशिक्षण दिएकी थिइन्।

कम लगानीमै घरमै बसेर साना तथा घरेलु उद्योग सञ्चालन गर्न सकिने सीप सिक्न पाएको भन्दै सहभागी महिलाहरू उत्साहित भएका छन्। तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ्गकी सान्ताकुमारी सार्की र ७ तोश्रामखोलाकी मीनकुमारी गुर्मछानले तालिमपछि क्रिस्टल गहना उत्पादनलाई व्यावसायिक रूपमा अघि बढाउने योजना बनाएको बताइन्।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले सीप सिकेर त्यसलाई व्यवहारमा उतार्नु नै महत्वपूर्ण रहेको बताए। महिलाहरूको सशक्तीकरणका लागि गाउँपालिका सदैव साथमा रहने उल्लेख गर्दै उनले सिकेको सीपलाई आयआर्जनसँग जोड्न आग्रह गरे। उपाध्यक्ष पुलामीले “सीप सिकेर मात्र होइन, त्यसलाई प्रयोगमा ल्याएर आत्मनिर्भर बन्न सके मात्र कार्यक्रमको उद्देश्य पूरा हुन्छ,” भन्दै गाउँपालिकाले सञ्चालन गरेका विकास तथा सीपमूलक कार्यक्रमहरूको प्रभावकारी प्रचारप्रसार आवश्यक रहेको बताए।

त्यसैगरी वडाध्यक्ष युवराज पहाडी र कृष्ण गौतमले यस्ता तालिम महिलाहरूका लागि वैकल्पिक आयआर्जनको महत्वपूर्ण आधार बन्न सक्ने बताए। उनीहरूले उत्पादित सामग्रीको बजारीकरणमा सहजीकरण गर्न वडा कार्यालय तयार रहेको उल्लेख गर्दै सहभागीहरूलाई सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गरे। “प्रमाणपत्र सिरानीमा राखेर होइन, उत्पादनमा प्रयोग गरेर आम्दानी गर्नुपर्छ,” भन्दै उनीहरूले सक्रिय रूपमा उद्यमशीलतामा लाग्न सहभागी महिलाहरूलाई प्रेरित गरे।

सामुहिक सरोकार समाज सिन्धुलीकी अध्यक्ष रमिता मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् ।  उनले समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा संस्थाले पुलको भूमिका निर्वाह गरिरहेको उल्लेख गरिन्।

 


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर