प्रेस चौतारीमा भूँइचालोः अध्यक्ष बर्खास्तीको संघारमा, अन्तिम घडीमा बैठक रोकियो

नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालभित्रको विवाद निर्णायक मोडमा पुगेको छ। अध्यक्ष गणेश पाण्डेलाई केन्द्रीय कमिटी बैठकबाटै बर्खास्त गर्ने तयारी भइरहेका बेला अन्तिम क्षणमा बैठक स्थगित भएपछि संगठनभित्रको शक्ति-संघर्ष थप सतहमा आएको छ।

शुक्रबार सम्पन्न सचिवालय बैठकले पाण्डेमाथि कारबाही गर्ने दिशामा स्पष्ट बहुमत देखाएको थियो। स्रोतका अनुसार सचिवालयका अधिकांश सदस्य अध्यक्षबाट हटाउने समझदारीमा पुगेका छन्, यद्यपि निर्णयको औपचारिक माइन्युट अझै तयार भइसकेको छैन। अब आयोजक कमिटी गठन गरी विशेष महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण गर्ने खाका अघि सारिएको छ।

उपाध्यक्ष चेतन अधिकारीको अध्यक्षतामा बसेको बैठकमा पाण्डेलाई आफ्नो स्पष्टिकर / धारणा राख्ने अवसर दिइएको थियो। तर, त्यसपछि बैठक कक्ष छाड्न गरिएको आग्रह उनले अस्वीकार गरेपछि परिस्थिति थप जटिल बनेको बताइन्छ। परिणामतः बैठकले तत्काल बर्खास्तीको औपचारिक निर्णय लिन सकेन।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, आफ्नै अगाडि जिम्मेवारी खोसिँदै उपाध्यक्षको नेतृत्वमा बैठक सञ्चालन भइरहँदा पनि पाण्डे मौन बसिरहेका थिए। यसले संगठनभित्रको असहज शक्ति-सन्तुलनलाई झन् उजागर गरेको ती पदाधिकारीको भनाइ छ।

यसबीच शनिबारका लागि तय गरिएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरियो। महासचिव हिरामान लामाले क्षमायाचनासहित पठाएको सन्देशमा “विशेष कारणवश” बैठक स्थगित गरिएको उल्लेख गर्दै सदस्यहरूमा पर्न गएको असुविधाप्रति खेद व्यक्त गरेका छन्।

अध्यक्ष पाण्डेले पनि छुट्टै सन्देशमार्फत बैठक स्थगनको पुष्टि गर्दै केन्द्रीय सदस्यहरूसँग टेलिफोनमार्फत संवादमा रहने बताएका छन्।

बानेश्वरस्थित आर्याल होटलमा बैठक सुरु हुनुअघि नै स्थगनको सूचना दिइएपछि देशभरबाट आएका केन्द्रीय सदस्यहरू अन्योलमा परेका छन्।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर