राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सिन्धुलीको अध्यक्षमा सुमन थापामगर निर्वाचित
सिन्धुली, कात्तिक २२। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सिन्धुलीको नयाँ अध्यक्षमा सुमन थापामगर निर्वाचित भएका छन्।
शनिबार सिन्धुलीमाढीमा सम्पन्न प्रतिष्ठानको तेह्रौं वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनले सर्वसम्मत रूपमा थापामगरलाई अध्यक्षमा चयन गरेको हो।
दुई कार्यकालसम्म संस्थाका सचिवका रूपमा रहेर संस्थाको सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गरेका थापामगर हाल कलाघर सिन्धुलीका अध्यक्ष समेत हुन्। संस्थाको निरन्तरता, सशक्त संगठन निर्माण र कलाकारहरूको हकहितका लागि प्रतिबद्ध योजनासहित उनले नयाँ नेतृत्व सम्हालेका छन्।
अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। जसअनुसार अध्यक्षमा सुमन थापा मगर, प्रथम उपाध्यक्ष पवित्रा रम्तेल, द्वितीय उपाध्यक्ष डिल्लि काफ्ले, महिला उपाध्यक्ष निरुता मोक्तान, सचिव सन्तोष नेपाली, सह–सचिव रिता थिङ, कोषाध्यक्ष सिद्धबहादुर बिक र सह–कोषाध्यक्ष अञ्जिला श्रेष्ठ रहेका छन्। त्यस्तै, सदस्यहरूमा श्याम अधिकारी, प्रकाश तामाङ, जीवन थापा मगर, सन्चिता थापा मगर, सृजना गोले, गङ्गा ठटाल, रुबिना पुलामी, रिता बिक, पारु अस्तानी मगर, विशाल सतसङ्कर, शिव परियार, प्रेम रानामगर र तिलक पहेली निर्विरोध चयन भएका छन्।
अधिवेशन संस्थाका अध्यक्ष नन्दलाल श्रेष्ठ ‘भावुक’को अध्यक्षतामा सम्पन्न गरिएको थियो। अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा संस्थाको गतिविधिलाई गाउँदेखि केन्द्रसम्म विस्तार गर्दै स्थानीय कलाकारहरूको सशक्तिकरणमा योगदान पुर्याएको उल्लेख गर्दै नयाँ नेतृत्वले संस्थालाई अझ सबल बनाउन शुभकामना व्यक्त गरे।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य कृष्ण गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा प्रतिष्ठान मधेश प्रदेशका अध्यक्ष रुन्द्रसेन विश्वकर्मा, बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष बालकुमार मल्लसहित विभिन्न संघ–संस्था, कलाकार र अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले देशभरका लोक तथा दोहोरी कलाकारहरूको हकहित र अधिकार सुनिश्चित गर्दै कला, संस्कृति र परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम


फेसबुक प्रतिक्रिया