सभामुखको सदस्यता स्थगन हो, राष्ट्रपतिको भने परित्याग : महासचिव पोखरेल

च्यासल, २६ साउन / नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी विधानमा सभामुख र राष्ट्रपतिको सदस्यता सम्बन्धी प्रावधान फरक–फरक हुने बताएका छन्। बागमती प्रदेश कमिटी सचिवालयको आठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले भने, “सभामुखको कुरा पार्टी सदस्यता स्थगन हो, राष्ट्रपतिको भने संगठित सदस्यता परित्याग हो, यी दुई फरक विषय हुन्। राष्ट्रपतिको संवैधानिक भूमिका पनि भिन्न हुन्छ।”

विधान संशोधन प्रक्रियामा कमिटीभित्र मात्र होइन, बाहिर रहेका जिम्मेवार कार्यकर्ता र सदस्यबाट पनि सुझाव संकलन गर्नुपर्ने उनले स्पष्ट पारे। यसका लागि प्रदेश र जिल्ला कमिटीहरुलाई आवश्यक वातावरण निर्माण गर्न निर्देशन दिइएको छ।

दुई कार्यकालको सीमा दशौं महाधिवेशनले नै हटाइसकेको स्मरण गराउँदै उनले ७० वर्ष उमेरको हदबन्दीबारे हालैको विवाद मुकुन्द न्यौपानेको प्रवेशसँग जोडिएको स्पष्ट पारे। पोखरेलका अनुसार केन्द्रीय कमिटीको बैठकले यस विषयमा सर्वसम्मत रूपमा स्थगन गर्ने निर्णय गरेको हो।

बैठक पार्टी अध्यक्ष कैलाश प्रसाद ढुंगेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराई, सचिवालय सदस्यहरु र जिल्ला अध्यक्षहरूले रिपोर्टिङसहित विधान संशोधनबारे आफ्ना धारणा राखेका थिए।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर