नयाँ पुस्ता बिनाको राजनीति असम्भव! – एमाले नेता सिलवाल

भक्तपुर, २३ जेठ । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका सचिव नवराज सिलवालले वर्तमान समयमा संसारको नेतृत्व नयाँ पुस्ताले गरिरहेको बताएका छन्। शुक्रबार नेकपा एमाले वाग्मती प्रदेश प्रचार तथा प्रकाशन विभागद्वारा भक्तपुरमा आयोजित प्रचार कार्यशालामा बोल्दै सिलवालले ३० वर्ष उमेरसम्मका युवाहरूले निरन्तर नयाँ आविष्कार गर्दै अगाडि बढिरहेको उल्लेख गरे।
‘नयाँ युवाको छुट्टै सोच छ, आफ्नै उद्देश्य छ, चिन्ताग्रस्त छ, बचाउन र लगानी गर्न खोज्छ, सरकारबाट धेरै अपेक्षा राख्छ र तिखो प्रतिक्रिया दिन्छ, व्यापक सामाजिक सञ्जाल प्रयोग गर्छ, पोडकास्टका कुरा गर्छ’, उनले बताए।
सिलवालले यस्तो युवाशक्तिलाई पार्टी, राजनीति तथा देश निर्माणको मूलधारमा जोड्न आवश्यक रहेको औंल्याए। ‘त्यो पुस्तालाई नजोड्ने हो भने पार्टी र देश बन्दैन’, उनले भने।
उनले नयाँ पुस्तालाई प्रेरणा दिने गरी पुरानो पुस्ताले उदाहरणीय, जिम्मेवार र भरोसायोग्य भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। साथै, नेतृत्व तहमा सुरक्षित भविष्यसहित युवाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखे।
यसका लागि संगठित, अनुशासित र जनतासँग जोडिने कार्यकर्ता, आर्थिक तथा सामाजिक परिवर्तनको स्पष्ट एजेन्डा र ऊर्जाशील नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।
सिलवालले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, भौतिक तथा सामाजिक आर्थिक सुरक्षा, न्यायको प्रत्याभूति र सम्पूर्ण जीवनको समग्र सुरक्षाको प्रत्याशा नयाँ पुस्ताले गरिरहेको उल्लेख गरे। समाजवादको आधार निर्माण गर्न युवा पुस्ताले खोजेको सामाजिक सुरक्षामा प्राथमिकता दिनुपर्ने उनको धारणा थियो।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया