सिन्धुलीमा उत्पादित अन्न जिल्लामै अपुग

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा उत्पादन भएको खाद्यान्नले सिन्धुली जनसंख्यालाई अपुग हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । कृषि विकास कार्यालय सिन्धुलीले गरेको जिल्लाको खाद्य अवस्था र अवश्यकतासम्बन्धी अनुसन्धानले जिल्लाको कुल जनसंख्या मध्ये करिव ३० हजारलाई अझै बाहिरी जिल्लाबाट खाद्यान्न आयात गर्नुपर्ने वाध्यता रहेको देखाएको हो ।

४४ औ विश्व खाद्य दिवसको सन्दर्भमा कृषि विकास कार्यालय सिन्धुलीले आयोजना गरेको कर्यक्रममा जिल्लामा खाद्यान्न आयात गर्नुपर्ने समस्या रहेको देखिएको हो । तथ्यांकले यहाँको जनसंख्यालाइ अझै ८ हजार ३ सय ५१ दशमलब ६ मेट्रिक टन खाद्यान्न अपुग रहेको देखाएको कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख अरूण खनालले बताए ।

उनका अनुसार ‘सिन्धुलीमा ५१ हजार मेट्रिक टन खाद्यान्न मात्र उत्पादन हुने गर्दछ । सिन्धुलीको कुल जनसंख्या मध्येको करिव ३० हजार जनालाई अझै बाहिरी जिल्लाबाट खाद्यान्न आयात गर्नुपर्दछ । जिल्लाको कुल जनसंख्यालाई वार्षिक रूपमा ५९ हजार ४ सय ४३ मेट्रिक टन प्रशोधित खाद्यवस्तु समेत आवश्यक पर्दछ ।

हाल सिन्धुली जिल्लामा विशेष गरी धान, कोदो, मकै, फापर, गहुँ लगायतका अन्नबाली उत्पादन हुने गरेको छ । तर, जिल्लामा उत्पादित अन्नहरू खाद्यान्नको रूपमा प्रयोग नगर्दा यस्तो समस्या देखिएको हो । विषेश गरी पछिल्लो समय विभिन्न स्थानमा कोदो, मकै गहुँ, फापर लगायतका अन्नहरू घरेलु मदिरा लगायतका विभिन्न प्रयोजनमा प्रयोग गर्ने गरेका छन् । जिल्लामा उत्पादन भएको खाद्यान्न अपुग भएपछि  बार्षिक  ८ हजार मेट्रिक टन खाद्यान्न अन्यत्रबाट आयात हुने गरेको छ ।

हाल सिन्धुली जिल्लामा करिव ५७ हजार ८ सय ८८ हेक्टर जमिनमा खाद्यान्न बालीको खेती हुँदै आएको छ । तथ्यांक विभागको तथ्यांकअनुसार हाल सिन्धुली जिल्लाको जनसंङ्ख्या ३ लाख १ सय १७ रहेको छ ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित खबर