समाजवादी कार्यक्रमका लागि वडा छनौटः सिन्धुलीको घ्याङ्लेख

सिन्धुली । बागमती प्रदेश सरकारले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयनका लागि वडाहरू छनौट गरेको छ । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सिन्धुलीको घ्याङ्लेख गाउँपालिका वडा नम्बर–१ सहित प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका एक/एक वडामा कार्यक्रम कार्यान्वयन गर्ने गरी वडाहरू छनौट गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर–७, चितवनको माडी नगरपालिका वडा नम्बर–९, भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर–४, काठमाडौँको शंकरापुर नगरपालिका वडा नम्बर–२, ललितपुरको केन्जोम्सोम गाउँपालिका वडा नम्बर– २ मा नमुना वडा समाजवादी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो ।
त्यस्तै बैठकले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर–७, सिनधुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर–३, नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर–३, रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर–५, धादिङ रुविभ्याली गाउँपालिका वडा नम्बर–५, काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–१ र दोलखा गौरीशंकर गाउँपालिका वडा नम्बर–१ मा नमुना वडा समाजवादी कार्यक्रम संचालनका लागि छनौट गरिएको उनले बताए ।
सो कार्यक्रम कार्यान्वयनको लागि सम्बन्धित स्थानीय तह र वडाले नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि अनुसारको कार्यक्रम तय गरी सम्झौता गर्नुपर्ने उनले बताए । सम्झौता पश्चात् प्रदेश सरकार र सम्बन्धित स्थानीय तहको सहलगानीमा कार्यक्रम सञ्चालन गरिने उनको भनाई छ । प्रदेश सरकारले निर्माण गरेको कार्यविधि अनुसार एक करोड रुपैयाँ बजेट मार्फत कार्यक्रम सञ्चालन गरिने उनले बताए । कुल एक करोड रुपैयाँ लागत मध्ये प्रदेश सरकारले ९० लाख रुपैयाँ र स्थानीय तहले १० लाख रुपैयाँ लगानी गर्नुपर्ने उनले बताए ।
मानव सूचकाङ्कमा पछि परेका स्थानीय तहका नागरिकहरूको शिक्षा स्वास्थ्य, आर्थिक उपार्जन लगायतका विषयमा काम गर्न सरकारले उक्त कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरिएको प्रवक्ता श्रेष्ठले बताए । उत्पादन र रोजगारी प्रवर्द्धनसहित आर्थिक र सामाजिक विकास व्यवस्थित गर्न र समाजमा रहेका सबै प्रकारका असमानता र विभेद न्यूनीकरण गर्न सो कार्यक्रम ल्याइएको उनले बताए । उनका अनुसार संविधानको परिकल्पना अनुसार समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख, समतामूलक र सुसंस्कृत समाजको निर्माण गर्न सेवा प्रवाहको जगको रूपमा रहेको वडास्तरबाट अभ्यास गर्ने तयारी गरिएको हो । प्रदेश सरकारले गत मङ्सिर १२ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नमुना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको थियो ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम
फेसबुक प्रतिक्रिया