कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६ बाट राससका फोटोपत्रकार प्रदीपराज वन्त सम्मानित
काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय फोटोपत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्त‘कर्पोरेट फोटोग्राफी एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित ‘कर्पोरेट एक्सिलेन्स अवार्ड–२०२६’ समारोहमा वन्तलाई उक्त सम्मान प्रदान गरिएको हो। विगत १७ वर्षदेखि राजनीतिक, आर्थिक, खेलकुद, मनोरञ्जनलगायत विविध क्षेत्रमा फोटोपत्रकारितामार्फत देश–विदेशमा सूचना प्रवाहमा योगदान दिँदै आएका वन्तले फोटोपत्रकारहरूको हकहित संरक्षण तथा क्षमता अभिवृद्धिका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित समारोहमा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल तथा नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) की पूर्वअध्यक्ष भवानी राणाले वन्तलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए।

कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्ज्वलजङ्ग शाहका अनुसार कार्यक्रममा कर्पोरेट फोटोग्राफीसहित २३ विधामा उत्कृष्ट योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। ईश्वरलाल प्रतिष्ठानसँगको सहकार्यमा आयोजित कार्यक्रम नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा, पर्यटन तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाको सम्मान तथा पहिचान गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा डेरी इन्डस्ट्रिज एक्सिलेन्स अवार्डबाट गङ्गाबहादुर खड्का, युथ आइकन (हस्पिटालिटी एन्ड टुरिजम) अवार्डबाट रोहित कार्की, फर्निचर इन्डस्ट्रिज एक्सिलेन्स अवार्डबाट तरालाल धरेल तथा एग्रो इन्टरप्रेनरशिप एक्सिलेन्स अवार्डबाट कृष्णहरि अर्याल सम्मानित भएका थिए।
त्यसैगरी विभिन्न कर्पोरेट, बैंकिङ, बीमा, उद्योग तथा उद्यमशीलता क्षेत्रका व्यक्ति र संस्थाहरूलाई समेत सम्मान गरिएको थियो। यस वर्षको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ वरिष्ठ उद्योगी सुरेन्द्रवीर मालाकारलाई प्रदान गरिएको आयोजकले जनाएको छ।
समारोहमा उद्योग, व्यापार, बैंकिङ, बीमा, स्वास्थ्य, पर्यटन तथा उद्यमशीलता क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो। सो अवसरमा मुलुकको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे विशेष छलफलसमेत गरिएको थियो।
कर्पोरेट मिडिया ग्रुपले विगत १८ वर्षदेखि विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउँदै आएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको जनाएको छ। निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्ने, सफल व्यावसायिक अभ्यासलाई प्रोत्साहन गर्ने तथा आर्थिक विकासमा योगदान पुर्याउने व्यक्ति तथा संस्थाको सम्मान र पहिचान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना हुँदै आएको आयोजकको भनाइ छ।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया