वित्तीय साक्षरतामार्फत आर्थिक सशक्तीकरणमा जोड, चकमकेमा नेशनल लघुवित्तको कार्यक्रम

सिन्धुली । वित्तीय साक्षरता अभिवृद्धि र समुदायस्तरमा आर्थिक सशक्तीकरण प्रवर्द्धन गर्ने उद्देश्यले नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चकमके बजारले समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरूलाई बचत, कर्जाको सदुपयोग, आर्थिक अनुशासन तथा आयआर्जन वृद्धिका उपायबारे प्रशिक्षण दिइएको छ।

उद्योग वाणिज्य संघ चकमके बजारमा आयोजित कार्यक्रममा तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगर प्रमुख अतिथि रहेका थिए। उनले कर्जालाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न, बचतको बानी विकास गर्न तथा वित्तीय अनुशासन कायम राख्न आग्रह गरे।

शाखा प्रमुख विनु मोक्तानले संस्थाको वर्तमान अवस्था र वित्तीय साक्षरताको महत्वबारे जानकारी दिँदै नेशनल लघुवित्तले देशका ७४ जिल्लामा १८५ शाखामार्फत सेवा प्रदान गरिरहेको बताए। उनका अनुसार संस्थामा २ लाख ६७ हजारभन्दा बढी सदस्य आबद्ध छन् भने १ लाख २६ हजारभन्दा बढी ऋणी सदस्य रहेका छन्। संस्थाले हालसम्म २८ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह र ७ अर्ब रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ।

मोक्तानका अनुसार चकमके शाखाअन्तर्गत ५८ केन्द्रमा ५८४ सदस्य आबद्ध छन्। तीमध्ये २९१ जना ऋणी सदस्य रहेका छन्। शाखाले ६ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी तथा १ करोड रुपैयाँभन्दा बढी बचत संकलन गरेको छ।

कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने समूह तथा सदस्यलाई सम्मान गरिएको थियो। समूह नं. १७ प्रथम, समूह नं. २८ द्वितीय र समूह नं. १४ तृतीय भएका छन्। सबैभन्दा बढी बचत संकलन गर्ने समूह नं. ४८ तथा उत्कृष्ट उद्यमशीलता प्रदर्शन गर्ने सदस्य मिना कुमारी पिटाकोटीलाई पनि सम्मान गरिएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार वित्तीय पहुँच विस्तार, बचत प्रवर्द्धन र वित्तीय साक्षरता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ।


माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम

सम्बन्धित खबर