सहकारी शिक्षामा जोड दिँदै राष्ट्र सेवक सहकारीको अभिमुखीकरण
सिन्धुली । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिन्धुलीले शेयर सदस्य तथा सञ्चालकहरूलाई सहकारी शिक्षा र सुशासनबारे जानकारी गराउने उद्देश्यले एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाको शिक्षा समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिका सहकारी शाखा प्रमुख मुकेश तामाङले उद्घाटन गर्दै सहकारीको सफलताका लागि सदस्यको सक्रिय सहभागिता र पारदर्शी व्यवस्थापन आवश्यक रहेको बताए। कार्यक्रममा प्रशिक्षकको भूमिकामा रहेका सिन्धुली जिल्ला सहकारी संघका अध्यक्ष नवराज कोइरालाले सहकारीका सिद्धान्त, सदस्यको अधिकार र दायित्व तथा वर्तमान चुनौतीबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीलाई केवल बचत तथा ऋण कारोबारमा सीमित नराखी सदस्यको आर्थिक तथा सामाजिक सशक्तीकरणको माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राखेका थिए।
संस्थाका अध्यक्ष तिलकबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार डिल्ली सौगात घिमिरेले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन शिक्षा समितिका सदस्य लोकमणि तिमल्सिनाले गरेका थिए।
सहकारीका शेयर सदस्य, सञ्चालक समिति तथा उपसमितिका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सहभागीहरूले यस्ता कार्यक्रमले सहकारीप्रति बुझाइ बढाउन र संस्थागत सुशासन सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।
माईशिर डटकममा प्रकाशित सम्पूर्ण समाचार, लेख, रचना, फोटो, भिडियो, तथ्याङ्क तथा डिजिटल सामग्रीहरू हाम्रो बौद्धिक सम्पत्ति हुन्। अनुमति बिना साभार, प्रतिलिपि वा पुनःप्रकाशन गर्न पाइने छैन। यस्ता कार्यहरू गरेमा प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार कानुनी कारबाही गरिने छ ।
© माईशिर डटकम




फेसबुक प्रतिक्रिया